Pages

Friday, August 14, 2015

दलित भन्ने थाहा पाएपछि गोठमा पुजा

दाङ, २९ साउन । प्यूठानमा रहेको पवित्र धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिरमा अपमानित भएर फर्केको छ एक दलित दम्पत्ति । दाङको त्रिपुर नगरपालिका– ६ सिस्नेरीका ३४ वर्षीय भीम नेपाली र उनकी श्रीमती बसन्ता नेपाली साउन २३ गते बिहान स्वर्गद्वारीबाट अपमानित भएर फर्केको घोराहीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।छोरी सन्ध्या नेपाली ४ वर्षदेखि विरामी भइरहेको र ग्रहशान्ति गर्नुपर्छ भनेपछि आफूहरु स्वर्गद्वारी गएको बसन्ताले बताइन् । “हामी साउन २३ गते बिहान स्वर्गद्वारी मन्दिरमा पुग्यौं । पुजारीसमक्ष छोरीको ग्रहशान्ति गर्न आएका हौं भनेर बतायौं । त्यसपछि पुजारीले भित्र लगेर फेरि हेर्ने कि उतैबाट हेराएर आएको भनेर सोधे । हामीले उता हेराएका हौं यता पनि हेरिदिनुस् भन्यौं । पुजारीले पात्रो निकाल्नु भयो । नाम र ठेगाना सोध्नु भयो । हामीले नाम, ठेगाना र थर बताएपछि पुजारी झोंक्राउनु भयो र जुरुक्क उठेर जानु भयो”, बसन्ताले भनिन् । “फुर्सद छैन भनेर पुजारी हिडेपछि हामी लज्जित भयौं”, बसन्ताले थपिन्, “अपमानित पनि महसुस भयो ।” बसन्ताका श्रीमान् भीम नेपालीका अनुसार पुजारी उठेर हिडेपछि गाई हेर्ने पण्डितलाई बोलाइदिएका थिए । गाई हेर्ने पण्डितले गाईको गोठतिर लगी त्यहाँ रहेको सानो मन्दिरमा पूजा गरिदिएको भीमको भनाई छ । गाई हेर्ने पण्डितले आफूहरुलाई धेरै सम्झाउने कोसिस गरेको बताउँदै बसन्ताले थपिन, “हामीले पनि धेरै सोधपुछ गर्यौं । प्रभु महाराजले भनेअनुसार गरेका हौं र समितिको निर्णय पनि यही छ भनियो । सार्वजनिक स्थलमा दलित भनेर अपमानित गर्ने पुजारीमाथि कानुनी कारवाही हुनुपर्छ ।” सबैले मूल मन्दिरमा पूजाअर्चना गरिरहेको र आफूहरुलाई गाईगोठमा भएको सानो मन्दिरमा लगेर पूजा गराउँदा रुन मन लागेको र पीडाले मन्दिरको प्रसादसमेत ग्रहण नगरेर फर्केको बसन्ताले बताइन् । उनको प्रश्न थियो, “धर्मनिरपेक्षताको विरोध गर्दै हिन्दूराष्ट्रको माग गर्ने तर एउटा दलित हिन्दू धर्मकै लाग पूजाअर्चना गर्न जाँदा विभेद किन ?” दलित अगुवा तथा एमाले नेता मानबहादुर विश्वकर्माले सार्वजनिक स्थलमा दलितलाई अपमानित गर्ने पुजारीमाथि कानुनी कारवाही हुनुपर्ने माग गरे । उनले आफूहरु दलित संघर्ष समितिको माध्यमबाट कानुनी प्रक्रियाबाट अगाडि बढ्ने जानकारी दिए । अर्का दलित अगुवा जनक नेपालीले बरु ग्रहशान्ति गरेको ४ हजार २ सय रुपैयाँ फिर्ता गरिदिने तर यो मुद्दालाई नउठाउन पुजारीबाट दवाव आएको जानकारी दिए ।

No comments:

Post a Comment