Pages

Thursday, August 13, 2015

जनार्दन शर्माको सिद्धिने दिन आउँदै छ ! रेखदेख अन्तरवार्ता

हेमन्त प्रकाश ओली ‘सुदर्शन’, एनेकपा माओबादीको शिर्ष राजनीतिका इमान्दार नेता मध्ये गनिन्छन् । जनयुद्धका बिभिन्न आक्रमणका योजनाकार, विचार बहसका अग्रज, सहिदका पिता समेत रहेका सुदर्शन चार महिना पहिले देखि पार्टीका आफ्ना सबै जिम्मेवारी (पोलिब्युरो सदस्य, केन्द्रीय सदस्य, मगरात जनआन्दोलन परिचालन समितिका इन्चार्ज, केन्द्रीय स्कुलिङ्ग बिभागका सचिव, बुद्धिजीबि संगठनको इन्चार्ज लगायत) बाट राजीनामा दिएर कहिले रुकुम त कहिले दांग बस्दै आएका छन् । प्रचण्डका कोटेशनहरु प्रयोगमा ल्याउन, पार्टीका दस्ताबेजहरु तयार पार्न, पार्टी भित्र विचारको बिषयमा बहस गर्न र मुलुकमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएका सुदर्शनले प्रचण्डपथको वकालत गर्दै पहिलो पटक पुस्तक समेत लेखे । जनयुद्ध सुरु गर्दाका पहिलो तीन आक्रमण (रुकुम आठबिसकोटको राडि चौकि, सिन्धुलीगढी र रोल्पाको होलेरी) मध्ये राडि चौकि बञ्चरोको भरमा सफल आक्रमण गर्ने योजनाकार र नेतृत्वकर्ता सुदर्शन उनै प्रचण्डले नेतृत्व गरेको पार्टीमा नै सबै जिम्मेवारीबाट राजीनामा दिएर बसेका छन् । पछिल्लो घटनाक्रमको बिषयमा रेखदेख साप्ताहिकका लागी गरिएको बिशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ । १) सबै कुरा माओबादीले नै गर्छ भनेर पार्टीमा त्यत्रो योगदान गरेको मान्छे, अहिले आएर घरमा छुपुक्क किन ? – हैन, अहिले परिस्थितिले त्यस्तै पा¥र्यो । आमा बिरामी हुनुहुन्छ, स्याहार सुसार गर्दैछु । अर्को कुरा, पार्टीमा इमान्दारहरुले बाँझो मार्ने, चंखे धुर्तहरुले खेतीबाली ढल्याउने काम भयो । पार्टी नवधनाढ्यहरुको हातमा पर्यो, लिन प्याओबादीहरुबाट वैचारिक रुपमा प्रचण्डपथलाई बमले उडाउने काम भयो, फकाउने अनि धम्काउने सुत्र प्रयोग गर्नेहरुको हालीमुहाली भयो, धन कुबेरहरुको बाहुल्यता रह्यो । पार्टीले रङ्ग बदल्न थाल्यो । पार्टीका बरिष्ठ नेताहरुमा समेत माक्सबाद, लेनिनबाद र माओबाद बारेमा बुझाई एकरुपता छैन । विचार विकास गर्नलाई कार्यविभाजन छैन, गफ मात्रै छ । २) तपाईको असन्तुष्टि खास के बिषयमा हो ? – प्रचण्डपथबारे छलफलै नगरी हटाईयो, विचार लत्याएर धन कमाउनेहरुले पार्टीलाई बुर्जवा बनाउँदैछन्, त्यस्तैको हातमा पार्टी गयो, प्रचण्डलाई पनि नवधनाढ्य बनाए, मुखमा राम राम बगलीमा छुरा हान्नेहरुले हाबी भयो, जसलाई काँधमा चढाएर ल्याईयो उसैले काँधमा दिशा गरिदिए । जनयुद्धको नाममा सुको पनि लगानी नगरेकाहरु एकाएक मोटाउन थाले । यस्तो गलत काममा टाँसिएर रहनु भन्दा चार महिना पहिले राजीनामा दिएर बसेको छु । कुनै रेस्पोन्स आएको छैन । ३) तपाईले त कान्छी श्रीमती लिएपछि, कारबाहिको डरले राजिनामा दिएको भन्ने सुनिन्छ नि ? – यसमा लामो कथा छ, जीवन रसिलो हुनपर्दो रैछ, फेरि कम्युनिष्टहरु भनेका जोगी हुँदैनन् । माओत्सेतुङ्गले ४ पटक विवाह गरेका थिए । यस्ता केहि आदर्श पुरुषहरुलाई पनि हेरेको हुँ । लामो सहकार्यमा महिला पुरुष सँगै हुँदा शंकै शंकाले मेरा जरा काट्नेहरुले यसैलाई आधार बनाए । गलत प्रचार गरेर पार्टी हेडक्वार्टरमा समेत रिपोर्ट हाले । यहि कारणले जेठी श्रीमतीसँग पनि सम्बन्ध बिग्रदै गयो । हामी दुबैलाई एक खालको प्रश्न आउन थाल्यो, थप प्रेरित हुदै गयौ, कुराकानी हुन थाल्यो । परिवार र पार्टिबाट समस्या भएन । तर जनार्दन शर्माहरुले यसैलाई गलत रुपमा उपयोग गरेर मलाई सिध्याउने प्रपञ्ज गरे । ४) जनार्दन शर्माले तपाईलाई यसरी सिध्याउन खोज्नुको कारण के हो त ? – पहिलो कुरा, अब सकिने दिन तिनीहरुकै आउँदैछन् । यौनको सवालमा मेरो कमजोरी होला, तर उनीहरुले यौन राजनिति गर्दैछन्, सेनाको कमाण्ड र कमिशार हुँदाका उनीहरुका त्यस्ता थुप्रै कुराहरु छन् । अर्को कुरा जनार्दन वैचारिक मान्छे होईनन् । विचार बोकेको मान्छे आयो भने आफू सिद्धिन्छु भन्ने डर उनीलाई छ । मुिखया पाराले शासन चलाउन खोज्छन् । केहि गर्ने खालको देखेर बिभिन्न अभियान र दस्ताबेजहरुमा अगाडि सारें, सहृदयी कमरेड ठाने, तर म माथी षड्यन्त्र गर्न थालेछन्, खत्तम पार्ने योजनामा रैछन्, अहिले पनि मेरो घरमा सिआईडि घुसाउन खोज्दैछन् । ४) अनि ? – झापा २, रुकुम १ र दांग ३ मध्ये एक ठाँउबाट संविधान सभा चुनावमा उठ्नलाई महराले मेरा नाम प्रस्ताब गरेर प्रचण्डले स्विकृति दिईसकेको अवस्थामा प्रभाकरले दादागिरी गरेर हुन दिएनन् । यीनैले हो, प्रचण्डलाई धाकधम्की दिएर बोगटी आयोगले सेना सम्बन्धि ल्याएको दस्ताबेज लुकाएको, बेपत्ता पारेको । शेरचन आयोगमा जनार्दनका २१ ओटा आर्थिक भ्रष्टाचार सम्बन्धिका मुद्धा छन् । अब यीनीहरु धेरै दिन टिक्दैनन् । ५) तपाईले यी बिषयमा पछिल्लो पटक प्रचण्डसँग कुरा गर्नुभएको छैन ? – कुरा भएको छ, तर उहाँ डराउनुहुन्छ । यस बिषयमा कुनै रेस्पोन्स भएन भने राजिनामामा उल्लेख गरेका कुराहरुलाई बाहिर ल्याउछु । पत्रकार सम्मेलन गर्छु । ६) प्रचण्डलाई विदेश मोह बढेकै हो ? – पहिले अध्यक्ष कमरेड प्रचण्ड भनेर जसरी सम्मान गरिन्थ्यो, त्यो छैन । जुन मुभ गरिरहनु भाछ, यो असाध्यै खतरानाक छ । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा खतरानाक छ, परिणाममा धेरै चिज गुमे जस्तो छ । हामीले बालेको मसालमा उहाँका भ्रमणहरुबाट पानी हाल्ने काम भएको छ । ७) पार्टी भित्रको आन्तरिक किचलो के हो ? – जनयुद्धकै समयमा खराब लक्षणहरु देखा परेका थिए । अहिले सत्ताले उजागर गरिदियो । एकथरी मान्छेहरु श्रोतहरु कब्जामा लिएर बनिराखेका रहेछन् । पुरानै सत्तामा डुब्न जानु, बुर्जवा मन्त्रीमण्डलमा पुरानै दिमाग लिएर समाबेश हुनु पनि हो । पुरानो फोहोर छदै थियो, अहिले ढंगुर नै भयो । पार्टीभित्र पनि सम्पत्तिकै कारण मारकाट हुन थाल्यो । ८) बिप्लव पक्षको शक्तिलाई यहाँले कसरी हेर्नु भा छ ? – उहाँले अलिकति छलफल गर्नुपर्ने हो, गुटगत हिसाबले जानु भो । उहाँहरुसँग कुरा भैराछ, वैचारिक राजनितिक बिषयमा जाऔ, गुरिल्ला युद्ध गरेर हुदैन भनेको छु । उहाँहरु क्रान्ती गर्ने भन्नुहुन्छ । कस्तो क्रान्ती हो, स्पष्ट छैन । सनकका भरमा क्रान्ती हुदैन । किरा मार्नलाई नयाँ शक्तिको आवश्यकता छ । ९) माओबादीहरुको एकता सम्भव छ ? – बैद्य, बिप्लव, मणि, मात्रिका सबैको पार्टी एकता गरेर जाने कुरामा मेरो बिमती छैन । मेरो बिमती भनेको माक्सबाद, लेलिनबाद र माओबादबाट चिप्लिएकाहरुबाट क्रान्ति हुदैन भन्ने हो । नवधनाढ्यहरुले अब केहि गर्दैनन् । १०) बेला बेला एमालेसँगको एकताको कुरा पनि आँउछ नि ? – एमालेसगँ मोर्चामा एलाईन्स हुनसक्छ, एकता सम्भव छैन । बाम मोर्चा बनाउन सकिन्छ । ११) अब एमाओबादी पार्टी कता जाला ? – अब माओबादी राजनितिका बिभिन्न धारा हुनेछन् । अब प्रचण्ड हट्दै जान्छन्, उनी सक्रिय राजनिति गर्ने विचारमा छैनन्, उस्तै परे भारत चिनले पार्टीबाट अलग पार्नलाई राष्ट्रपति बनाईदिन्छन् । साम्राज्यबादीहरुले माओबादी भन्ने बित्तिकै राख्नेवाला छैनन्, झुन्ड्याउन बेर हुने छैन । तर, अब क्रान्ति कसैले मार्न सक्दैन । कम्युनिष्टहरु नेपालमा मर्दैनन् । तत्काल तितरबितर हुन सक्छ । १२) प्रचण्डले तपाईका कुरा सुन्दैनन्, तपाईकै समकक्षिहरु तपाई बिरुद्ध सक्रिय छन् भने, उहाँहरुसँगै तपाई जोडिईरहने हो ? – मैले तत्काल यसबारेमा सोचेको छैन । मैले उठाएको बिषयमा ढिला भयो भने बैकल्पिक संगठनको आवश्यकता पर्न सक्छ । लोकेन्द बिष्ट, लेखराज भट्टहरुले पनि कुरा उठाउनु भाछ, इमान्दार क्रान्तिकारीहरु अन्याय, अत्याचारमा पर्नु भएन भन्ने आवाज उठेको छ । संगठन साधन हो गतिलो बनाउनु पर्छ । मलाई कसैले पछि पारेको भनेको म अझै अघि बढेको हो । अहिले सम्मका सबै चिजहरुको ठेली तयार पार्छु, विचारको रुपमा प्रस्तुत गर्छु । जानेका सबै भाषामा उल्था गर्छु र अन्तराष्ट्रियकरण गर्छु । म कुनै पनि मोर्चाबाट अगाडि बढ्न सक्छु । म इमान्दार भएकोले बाँच्नै समस्या बनाए । अब पचास बर्षमा मेरो बद्धि बंगारा पलाए झै भयो भनौ । १३) घर खर्च कसरी चलाउँदै हुनुहुन्छ ? – अदुवा खेती गरीराछु । बुवाको स्थिति पनि राम्रै हो । पार्टीले तीन चार बर्षदेखि हेर्न छोडेको छ । अरु किसान सरह सामान्य रुपमा गुजारा चलाईराछु । पार्टीले केन्द्रीय स्कुलिङ्ग चलाउँछु भन्यो, चलाएनन् । ठगिराछन् । घरमै बसेर पनि काम गर्छु ।

No comments:

Post a Comment