
उपेन्द्रलाल कामी
नाम अनुसारको काम हुने र काम अनुसारको दाम मिल्ने नीति लागु भएको भए नेपालका बाम पार्टीहरुको बदनाम हुने थिएन होला । साम्यबादीको साईनबोर्ड झुण्ड्याएर सामन्तबादी प्रणालीको अभ्यास गर्नुलाई नै क्रान्तिकारी लाइन मानेर स्वेच्छाचारी, दुराचारी, भ्रष्टचारी अत्याचारी जस्ता चारीलाई पदीय जिम्मेवारी को सम्मानीत भारी बोकाएर सुन्दर फुलवारीको मालिक बनाईन्छ ।
पाठकलाई लाग्न सक्ला यो गर्भभित्र रहेको कुराको सन्र्दभ के हो र उखान टुक्काबाट भुमिका बाधेर गुमेको विषयहरुलाई किन अगाडि ल्याउन खोजेको होला ? यस विषयको शिर्षकले नै गाँठी कुरा बोलिरहेको हुँदा यसमा धेरै चर्चा परिचर्चा गर्नुपर्दछ जस्तो लाग्दैन । तर पनि शिर्षकले मागे अनुसारको सामाग्री जुटाएर पाठकलाई पस्किदिनु यस पंत्तिकारको दायित्व भएको हँदा त्यो दायित्व पुरा गर्न कति सफल हुन्छु बाकी कुरा पाठककै जिम्मा छ । सन्दर्भ अहिलेका हाम्रा गृह मन्त्री शक्तिबहादुर वस्नेतले भुकम्प पीडितहरुको लागि घर व्यवस्थापनमा सहयोग जुटाउन र अवलोकण भ्रमण गर्न आफना नातेदार परिवारलाई साथमै लिएर चीन जाँदा पार्टी भित्र तथा बाहिर चौतर्फी विरोध खेप्दै आत्मालोचना समेत गरेर माफी मागेको विषय हो । गृहमन्त्रालयको काम नै घर परिवारको रेखदेख गर्ने काम भएको हँदा गृहमन्त्रीले आफ्ना परिवारका सदस्यहरु र नातेदारलाई चीन भ्रमणमा लगेको विषयमा आलोचना गर्नेहरु गृहमन्त्रालयको बारेमा नबुझेका हुन वा मन्त्रीले बुझाउन नसकेका हुन । त्यो नि बुझन बाँकी नै छ । गृहमन्त्रालय आफैमा शक्तिशाली हुन्छ भन्ने हालका गृहमन्त्रीको नाम नै शक्ति भएपछि झन कति शक्तिशाली भएको होला ? बरु यहाँ फरक छुट्याउने कसरी भन्ने कुरा अप्ठेरोमा छ । हालका गृहमन्त्री गृहका शक्ति हुन या शक्तिको गृह हो ? उनी नाम मात्रका शक्ति हुन या वास्तविक काममा पनि हुन ? आफनै आन्तरिक शक्तिद्धारा स्वचालित छन या बाह्य अदृष्य शक्ति मार्फत सञ्चालित छन ? उनले शक्तिको सदुपयोग गरेका छन या दुरुपयोग ? उनले यी यक्ष प्रश्नहरुको ब्यवहारबाट कसरी जवाफ दिन्छन त्यो पनि हेर्न बाँकी नै छ ।
शक्ति भनेको यति महत्वपूर्ण चिज हो जुन शक्ति विना केही पनि कार्य सम्भव हुँदैन । शक्ति जहाँ तँही रहेको हुन्छ भन्ने सजिवमा मात्र नभई निर्जिव वस्तुहरुमा पनि शक्ति हुन्छ । उदाहरणको लागि कोइला निर्जिव वस्तु हो तर त्यसमा आगो बाल्न सकिने शक्ति रहेको हुन्छ । पेट्रोल डिजेल निर्जिव वस्तु हो तर त्यसमा हवाइजहाज तथा गाडि मोटर चलाउने शक्ति रहेको हुन्छ । हामीले खाने खाद्य सामाग्रीहरु प्रायः निर्जिव छन तर त्यसमा पोषण शक्ति रहेका हुन्छन । शक्तिका यस्ता उदाहरण कयौँ छन, सबै वर्णन गरेर साध्यै छैन । हामी रहेको पृथ्वी र ब्राहमण्डलमा रहेका सौर्यमण्डलका ग्रहहरु त गुरुत्वाकर्षण शक्तिबाट अडेका छन भने शक्तिको महत्व अपार छ । यति अपार महत्व भएको शक्तिलाई केवल मानिसले मात्र चिनेर त्यसलाई आफनो स्वार्थ अनुकुल उपयोग छ । शक्तिलाई आफनो स्वार्थ अनुकुल प्रयोग गर्दा कसैले सदुपयोग गरेका हुन्छन भने कसैले शक्तिको दुरुपयोग गर्दछन ।
शक्तिको सदुपयोग भएमा मानिसलगायत संसारका प्राणी जगतको हित हुन्छ भने दुरुपयोग भएमा सबै विनास हुन्छ । शक्तिको सदुपयोग गरेर मानिसले विज्ञान प्रविधीको उच्चतम विकास गरेर अन्तरिक्षामा समेत पुगेर विभिन्न खोज तथा अध्ययन गरिसकेका छन भने शक्तिको सदुपयोग दुरुपयोग गर्दा अमेरिकाले जापानको नागाशाकी र हिरोसीमामा परमाणु बम खसालेर लाखौ मानव र अचेत प्राणीको जीवन समाप्त पारदिएको थियो । अझै पनि एकले अर्कालाई भौतिक रुपमै सिध्याएर आफुशक्ति शक्तिशाली बन्ने होडबाजीले विभिन्न शस्त्र–अस्त्रहरु प्रयोग गरेर शक्तिको दुरुपयोग गरी रहेका छन । शक्तिलाई विवेकले प्रयोग गरेमा सदुपयोग हुन्छ भने आवेकले प्रयोग गरेमा दुरुपयोग हुन्छ ।
शक्तिको बारेमा यति चर्चा गरी सकेपछि अव गृह शक्तिको बारेमा पनि केही चर्चा गरौं । गृह अर्थात घर– मानिस मात्र नभई हरेक सजीव प्राणीहरुको लागि आवश्यक हुन्छ । मानिस सबैभन्दा सर्वोत्कृष्ट सचेत प्राणी भएकाले आफनो क्षमता र रुची अनुसारको विभिन्न आकृत्तिका सुन्दर घरहरु निर्माण गर्दछ भने हरेक प्राणीहरुले आफु बस्ने बास बनाएका हुन्छन । गृह अर्थात घरमा मुलतः प्राणीहरुलाई आश्रय दिएर वचमउन सक्ने शक्ति हुन्छ । त्यति मात्र नभई कारणबस आगजनी भएमा वा भत्कीएमा आश्रीत प्राणीहरुलाई मार्न सक्ने शक्ति पनि हुन्छ । गृहमा परिवारका सदस्यहरुलाई स्थायी रुपमा र वाहीरका पाहुनाहरुलाई अस्थायी रुपमा मात्र राख्ने सक्ने क्षमता रहेको हुन्छ । गृह खास गरी आफु र आफना परिवारका लागि नै बनाईएको हुन्छ । मानिसको परिवार नीजि र सामुहिक गरी दुई प्रकारका हुन्छन । नीजि परिवार घरधुरको रुपमा गणना हुन्छ भने सामुहिक परिवार देश भित्रको राज्य र त्यसका विभिन्न क्षेत्र, जिल्ला र गाउँ तहका राजनैतिक तथा सामाजिक संरचनाको रुपमा निर्माण गरेर सञ्चालन गरिएको हुन्छ । नीजि परिवार राष्ट्रको रुपमा रहेको सामुहिक परिवारको सामाजिक तथा राजनैतिक संरचनामा बाँधिएको हुन्छ भने राष्ट्र नीजि परिवारसँग विभिन्न रुपले जोडिएको हुन्छ । नीजि र सामुहिक परिवारलाई रेखदेख गर्न राज्यको सरकार अन्र्तगत गृहमन्त्रालय हुन्छ । यो कुरा राजनीतिमा सामान्य सुझवुझ राख्ने जो कोही नागरिकलाई पनि थाहा भएकै विषय हा । नेपाल सरकारका हाम्रा गृह मन्त्रीले आफनो परिवार र नातेदारलाई विदेश भ्रमणमा लैजादा देश भित्रका अरु नागरिकहरुको दैनिकी जीवन कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा कत्तिको ख्याल गरेका होलान ?
सामुहिक परिवारमा अशान्तिले रुवावासी भईरहेको बेला राष्ट्रको गृहमन्त्रीले नीजि परिवार भित्र रहेर स्वादिष्ट भोजन र भरपुर मनोरञ्जनमा रम्न थाल्नु मानवीयता हो की होइन ? दवाव दिएपछि मात्र जवाफ दिने शक्ति भएका गृहमन्त्रीको शक्ति स्वचालीत हो या सञ्चालित ? उनीसँग भएको शक्ति गतिशिल छ या स्थिर ? उनको शक्ति प्रयोग, उपयोग, सदुपयोग वा दुरुपयोग के भएको छ होला ? प्रश्न अनुत्तरित छन । अधिकारका लागि आन्दोलित मधेसी, थारु, जनजातीहरुलाई गोली ठोकेर राष्ट्रवादको वोली बेच्दै विदेशीको सामु झोली थाप्ने के.पी. ओली को नेतृत्वको सरकारका गृहमन्त्रीको शक्ति परिक्षण गर्दा उल्लेखित यक्ष प्रश्नहरुको जवाफ दिन नसक्ने अवस्था देखिएको छ । उनले नाम अनुसारको काम गरेर त्यति बेलामात्र देखाउन सक्ने छन जव उनी पुरानो शक्तिबाट नयाँ शक्ति रुपान्तरण हुने हिक्मत गर्ने छन । अन्यथा उनीसँग थोर वहुत बचे खुचेको शक्ति समेत नष्ट भएर जाने छ । उनीसँग समयमै बुझ्ने चेतना भया ।
No comments:
Post a Comment