हवाई यात्राका लागि विमानस्थल पुग्दा पासपोर्ट घरमै भुलेको सम्झँदा कम्ती समस्या पर्दैन । धेरैले यस्तो अवस्था झेल्नुभएको पनि होला । यस्तो बेला पुनः घर पुगेर पासपोर्ट लिएर विमानस्थल पुग्नुपर्ने वा ढिलाइ भए यात्रा नै रद्द गर्नुपर्ने अवस्था आउन सक्छ । तर, निकट भविष्यमै यो समस्याको समाधान हुने सम्भावना छ ।
डे ला रे र ब्रिटेन आधारित एक व्यावसायिक बैङ्क नोट प्रिण्टर कम्पनी र पासपोर्ट निर्माताले संयुक्त रूपमा यो समस्याको समाधान खोज्ने प्रविधिमा काम गरिरहेका छन् । तिनले विकास गरिरहेको नयाँ प्रविधिको माध्यमबाट स्मार्टफोनले नै पासपोर्टको काम गर्नेछ । वास्तवमा तिनले विकास गरिरहेको नयाँ प्रविधिले कागजरहित पासपोर्ट प्रयोगकर्ताको स्मार्टफोनमा सञ्चित हुन्छ ।
टेलिग्राफको रिपोर्टअनुसार नयाँ प्रविधिमार्फत यात्रु पासपोर्ट ‘कागजरहित पासपोर्ट’मा परिणत हुनेछ । साथै, यसले मोबाइल बोर्डिङ कार्डका रूपमा समेत काम गर्नेछ । यसो भएपछि यात्रुले कुनै पनि प्रकारको कागजपत्रविना नै विमानस्थलबाट यात्रा गर्न सक्नेछन् ।
कम्पनीका एक प्रवक्ताका अनुसार ‘कागजरहित पासपोर्ट’ कम्पनीका विभिन्न महत्त्वाकाङ्क्षी योजनामध्ये एक हो । ‘अहिले यो अवधारणामै मात्र सीमित रहेको उनले बताए । उनका अनुसार अवधारणा अहिले विकासको प्रारम्भिक चरणमै रहेको छ । नक्कली पासपोर्ट, स्मार्टफोन हराउने समस्यालगायत विभिन्न सुरक्षा चुनौती यसमा हुन सक्ने बताइएको छ ।
सुरक्षा कम्पनी प्रूफप्वाइण्टका डेभिड जेवेन्सका अनुसार प्रयोगकर्ताको फोनमा डिजिटल पासपोर्टलाई सुरक्षित राख्न नयाँ हार्डवेयरको आवश्यकता पर्नेछ । यो हार्डवेयरले उपकरणमा सञ्चित विद्युतीय पासपोर्टलाई अन्य कुनै पनि फोनमा कपी गर्न नसकिने बनाउन जरुरी रहेको उनले बताए । विकासको प्रक्रियामा रहेको नयाँ पासपोर्ट वायरलेश कम्युनिकेशनमा आधारित हुनुपर्ने र यसलाई पासपोर्ट रिडरले मात्र देख्न सक्ने बनाउनुपर्ने उनको धारणा छ । स्क्रिनमा देखिने भएमा एयरलाइन्स टिकटको क्यूआरकोड झैं नक्कली वा जाली पनि हुन सक्ने सम्भावना रहेको उनले बताए । (एजेन्सी)
No comments:
Post a Comment