काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपालीले अन्ततः युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
माओवादी जनयुद्धको उदगम मानिने रुकुमको महत ५ गुनाममा २०२६ साल असोज २७ गते जन्मिएका श्रीपाली ६ दाजुभाइ मध्येका कान्छो हुनुहुन्छ । तत्कालीन माओवादीका डिभिजन सह–कमाण्डर समेत भइसकेका श्रीपालीले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । विक्रम संवत २०५०/०५१ मा गाउँकै विद्यालयमा शिक्षण गर्नुभएका श्रीपालीको जीवनका ११ घटना अति अविश्मरणीय छन् ।

घटना १ – घर छाडेर युद्धमा होमिदा
स्कुल पढ्दादेखि नै श्रीपालीले जातीय विभेद र थिचोमिचोको व्यवहार सहनु परेको थियो । त्यसले पनि समाजमा हुने थिचोमिचो र अन्यायको विरुद्ध लड्न उहाँलाई उर्जा मिल्यो । नेकपा माओवादीले सशस्त्र युद्धको सुरुवात गर्नुपूर्व नै उहाँ पार्टीमा सक्रिय हुनुहुन्थ्यो ।
२०५२ सालमा घर छोड्दाको दिन सम्झिँदै उहाँले भन्नुभयो, ‘मैले अघिल्लो दिन नै आफ्नो झोला तयार पारेको थिएँ, घरको संघार छोड्दै गर्दा श्रीमती यो बालबच्चा कसरी पाल्ने भनेर सोध्दै थिइन् । आमाले अबिरले बाटो देखाइदिनुभयो, बुवाले राम्ररी जा भनेर विदाइ गर्नुभयो । अलि पर पुगेर फर्केर हेर्दा बुवा एकातिर, आमा अर्कैतिर फर्केर अनि श्रीमती घोप्टो परेर डाँको छाडेर रोइरहेका थिए । मलाई ती आँशुले पनि रोक्न सकेन, किनकि म महान लक्ष्य लिएर युद्धमा होमिदै थिएँ ।’

घटना २ – आफ्नै हातको बम पड्किँदा
हतियारको यात्रा रोजेको झण्डै एक वर्षपछि नै उहाँ ठूलो दुर्घटनामा पर्नुभयो । २०५३ साल असार २६ गते आफैले चलाएको बम पड्किएर उहाँको शरिर भरि आगो लाग्यो । ‘तत्काल यो खबर श्रीमतीलाई पुर्याएछन् लगत्तै श्रीमती र साथीहरुले बचाएछन् । सबैले दलजीत मर्यो भनेर माया मारिसकेका थिए तर भाग्यले बाँचें ।’
घटना ३ – आर्मीसँगको भिडन्त
२०६० साल मंसिरमा कैलालीको वनवर्षामा आर्मीसँग ठूलो भिडन्त भयो । चारैतिरबाट गोली बर्सिएपछि सँगै रहेका साथी काशीराम चौधरी आँखै अगाडि ढले । श्रीपाली त्यसबेलाको घटना सम्झिँदै भन्नुहुन्छ ‘म भागेर केराको घारीमा पुगेँ र बाहिरी कपडा फुकालेर गन्जी र हाफ पाइन्ट मात्रै लगाएर बाटोमा निस्केँ, त्यत्तिबेला त आर्मीले स्थानीय बासिन्दा भनेर होला, केही गरेन, अलि पर पुगेपछि म जब उखु बारीमा हाम फालें । अनि सुरक्षाकर्मीले माओवादी लडाकु भन्ने पत्तो पाएर गोली बर्साए । म त्यहाँबाट पनि रन्थनिँदै भागेर एक जना वृद्ध आमाको आँगनमा पुगेर ढलेछु ती आमाले परालले छोपेर लुकाउनुभएछ र एक घण्टा पछि म होशमा आएछु, पटक–पटक मरेर बाँचेका यस्ता थुप्रै घट्ना छन् ।’
घटना ४ – श्रीमतीलाई शहीद पत्नी घोषणा गरेर सम्मान
यता म युद्धका मोर्चाहरुमा विजय हासिल गर्दै थिएँ । उता श्रीमतीलाई दलजीत श्रीपालीको मृत्यु भयो भनेर हल्ला चलाउँदो रहेछ । श्रीपाली भन्नुहुन्छ ‘एक दिन माओवादी पार्टीकै गाउँ कमिटिका सदस्यहरुले प्रशान्त सहिद भएको कुरा सुनाएछन् । सुत्केरी अवस्थामै उनलाई सहिद पत्नी घोषणा गरेर सम्मान पनि गरेछन् मैले यो कुरा पछि मात्र थाहा पाएँ ।’ माओवादी पार्टीमा श्रीपाली ‘प्रशान्त’ नामले चिनिन्थे ।
घटना ५ – बुबाको शव जलाएको दुरबिनले हेरेको क्षण
‘छोरो माओवादीमा गएको विषयलाई निहुँ बनाएर आर्मीले कुटपीट ग¥यो रे भन्ने कुरा बेला बेलामा सुन्नमा आए पनि भेट्न पाएको थिएन बुबालाई । मनमा त लाग्थ्यो बुबालाई उपचारका लागि अस्पतालसम्म पु¥याउँ, तर सुरक्षाका हिसाबले त्यो सम्भव थिएन ।’ २०५३ साल जेठ १ गते राइफलले कुटेर धुकधुकी मात्र राख्यो रे भन्ने सुनेको तेस्रो दिनमै बुबाको मृत्यु भयो । मैले काँध थाप्न जान सकिन । बुबाको दाहसंस्कार गरेको दृश्य मैले जंगलबाट दुरबिनले हेरिरहें ।’ मन्त्री श्रीपालीले भन्नुभयो ।
घटना ६ – कुटाईबाटै आमाको पनि मृत्यु
आर्मीकै कुटाईबाट बुबाको तत्काल ज्यान गएपनि आमाको भने २०६४ फागुन ९ गते मात्र देहान्त भयो । तर उहाँको पनि कुटपीटकै कारण ज्यान गएको थियो मन्त्री श्रीपाली बताउनुहुन्छ, ‘छोरा माओवादीमा हिँडेकै कारण पटक पटकको कुटाईबाट थला पर्नुभएको थियो, शान्ति प्रक्रियामा आएपछि आमाको देहान्त भएपनि म विदेशमा थिएँ आमाको दाहसंस्कार पनि गर्न पाइन, त्यो दिन सम्झिँदा आज पनि आँखा भरि आँशु आउँछ ।’
घटना ७ – रेडियोमा आफ्नै मृत्युको खबर
‘रेडियोमा म मारिएको समाचार बज्थे, आफै सुनिरहेको हुन्थें, एक दिन सेनासँगको भिडन्तमा मेरा सहयोद्धाहरु मारिएछन् । रेडियोमा म पनि मारिएको भनेर खबर आयो, तर त्यत्ति असामान्य लाग्दैन थियो मलाई, भ्रम सिर्जना गर्न वा मनोबल गिराउन पनि त्यसो गरिएको हुनुपथ्र्यो’ उहाँले भन्नुभयो ।
घटना ८ – श्रद्धाञ्जली दिन आएकी श्रीमतीले अंगाल्दा
रेडियोमा म मारिएको खबर श्रीमती सुनकुमारीले पनि सुन्नुभएछ । त्यतिबेला उहाँ पनि जनसेना भइसक्नुभएको थियो । मृतक योद्धाको श्रद्धाञ्जली कार्यक्रममा श्रीमती सुनकुमारी मलाई श्रद्धान्जली दिन भनेर आउनुभएको रहेछ, तर मलाई जिउँदै देखेपछि हर्षको आँशु बगाउँदै अँगालो हालेर धेरै रुनुभयो, म पनि रोएँ ।
घटना ९ – शरीरमा अझै बमका छर्रा
उहाँको शरिरमा अहिले पनि ७ वटा बमका छर्रा छन् । घुँडा, दाहिने हात, पिठ्यू र खुट्टामा छर्रा रहेको र बेला बेलामा एमआरआई गरिरहेको उहाँले बताउनुभयो । ‘नसा र मासुले पुरिएको छ, अप्रेशन गर्दा झनै समस्या आउन सक्ने भएकाले त्यत्तिकै राखेको छु’ उहाँले बताउनुभयो ।
घटना १० – आर्थिक अभाव
श्रीमतीलाई मृगौलाको समस्या भएपछि उहाँले चरम आर्थिक संकटको समेत सामना गर्नुभएको छ । २०७२ माघ १६ गते शिक्षण अस्पतालमा किड्नी ट्रान्सप्लान्ट गर्दाको क्षण सम्झिँदै उहाँले भन्नुभयो ‘साह्रै पैसाको समस्या भयो, आफन्तलाई फोन गर्दा नउठाउने । म निक्कै आत्तिएको पनि थिएँ ।’ किड्नी ट्रान्सप्लान्ट सफल नभएपछि अहिले हप्ताको २ पटक डायलासिस गर्दै आउनुभएको छ ।
घटना ११ – युवा तथा खेलकुद मन्त्री
पटक पटक मृत्युमाथि विजय हासिल गरेका श्रीपालीका लागि साउन १९ गते जीवनकै अति महत्वपूर्ण दिन बन्यो । जुन दिन उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र श्रीपाली यस अघिकै सरकारमा मन्त्री बन्ने चर्चा चले पनि अन्तिम समयमा अटाएका थिएनन् । ‘खेलक्षेत्रको नीतिगत सुधार, पूर्वाधार विकास, खेलाडीको सम्मान र दक्ष खेलाडी उत्पादन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ, म यो विश्वास दिलाउन चाहन्छु कि हिजोको स्थितिबाट चल्ने छैन अबको खेलकुद क्षेत्र’ युवा तथा खेलकुदमन्त्री श्रीपालीले भन्नुभयो । मन्त्री श्रीपालीका श्रीमती र पाँच छोरी छन् ।

No comments: