दिनभरी काम गरेर लखतरान भएको ज्यानले कतिखेर ओछ्यान भेट्टाउला भन्ने बेलामा रक्सीले मातेर आएका श्रीमानको कुटाइ भेटिन्छ, त्यसैले बरु रातै नपरोस् जस्तै हुन्छ
काठमाडौं। नीरा सापकाेटालाई आजभोली कहिल्यै रात नपरे हुन्थ्याे जस्तो हुन्छ। दिनभरी काम गरेर थकित ज्यानलाई रक्सी खाएर आउने श्रीमानले कुटेर झन् थिलो थिलो पार्छन्। उनलाईमात्रै होइन छोराछोरीलाई पनि यस्तै हुन्छ।
काठमाडौं कुुमारीगालको सरकारी जग्गामा ईंटाको छाप्रोमा बस्दै आएकी नीरा सापकोटाले ३ छोरी एक छोरालाई एउटा विदेशी र अरु धेरैको घरमा काम गरेर लालनपालन र पढाइ खर्च जुटाउँदै आएकी छन्। भन्छिन् ‘दिनभरी काम गरेर लखतरान भएको ज्यानले कतिखेर ओछ्यान भेट्टाउला भन्ने बेलामा रक्सीले मातेर आएका श्रीमानको कुटाइ भेटिन्छ, त्यसैले बरु रातै नपरोस जस्तै हुन्छ।’
छोराछोरी कै अगाडी उनका श्रीमानले जथानाम गाली गर्दै कुटपीट गर्छन्, जुन उनका छोराछोरीलाई सुन्न समेत गाह्रो भैसकेको छ। बाबुलाई रक्सी नखान उनीहरूले धेरै अनुनय विनय गरे, तर उनी मानेनन्। ‘घरमा विहान बेलुकाको छाक टार्न धौ धौ छ तर, बुवालाई कुनै वास्ता छैन’ जेठी छोरी सुनामी सापकोटाले भनिन्।
२२ वर्षदेखि उनीहरू सलाइको बट्टा जस्तो कतैबाट हावा नछिर्ने गुम्म परेको यो छाप्रोभित्र बस्दै आएका छन्। छाप्रोको एउटा कुनामा एउटा बेलायती कुकुर चारैतिर बारिएको साँगुरो पारदर्शी फलामको बाकस भित्र राखिएको छ।
यो कुकुर यो परिवारको अभिन्न सदस्य बनिसेको छ। किनकी यो बेलायती कुकर व्याएपछि यो परिवारमा निकै खुशी छाउँछ। यहि कुकुरका बच्चा बेचेर आएको पैसाले उनीहरूको केहीदिनको छाक टर्छ ।
छोरी पढाउने चिन्ता
यसपाली नीराका दुई छोरी रेखा र सुनामीले एसएलसी दिएका छन्। ८ कक्षासम्म एउटा संस्थाले पढाइ खर्चमा सहयोग गरेको थियो। त्यसपछि भने नीराले यी चारै जनालाई आफै दुःख सुख गरेर पढाउँदै आएकी हुन्। अहिले दुई छोरीलाई क्याम्पस कसरी पढाउने भन्ने थप जिम्मेवारी निराको एक्लो काँधमा आइपुगेको छ। तर, यी दुई छोरीलाई थाहा छ आमाको यो कमाइले आफूहरूको क्याम्पस पढने धोका पुरा हुँदैन।
यी दुई छोरी सुनामी र रेखा आमा अरुको घरमा काम गर्न जाँदा आमा कै पछिपछि गएर हुर्के अनि पढे। घरमा आमाको दुःख देखेर उनीहरूलाई आफ्नो शिक्षा कसरी अघि बढाउने भन्नेमात्र चिन्ता छ। पढ्ने छोरीहरूको रहर हेर्दा आमाका आँखा रसाएर आउँछन्। आमाको यो दुःख देखेर रेखा र सुनामीले पढेर भविष्यमा के बन्ने भन्ने योजना बनाएका छैनन् । मात्र उनीहरूलाई चिन्ता छ सामान्य सरकारी क्याम्पसमा पढ्ने खर्च कसरी जुटाउने। कान्छी छोरी रेखा भन्छिन् ‘मलाई बरु खान चाहिँदैन, क्याम्पस पढ्न पाए जस्तो सुकै दुःख गर्न तयार छु।’
रेखाकी आमा ठकुरीकी छोरी हुन्। उनका माइती खान्दानी छन्। तरपनि उनीहरूलाई मामा घर जान मन लाग्दैन। मामा घर जाने रहर उनीहरूलाई नलागेको होइन, तर जव उनीहरू मामा घर जान्छन्, आफूहरूलाई झन अपहेलित भएको पाउँछन्।
‘यही हुनेखानेका छोराछोरी र छोरीका साथीहरू एसएलसी परिक्षा सकेपछि अव भविष्यमा के बन्ने भन्ने योजना बुन्नु व्यस्त छन् र बिभिन्न खाले कोर्षहरू लिन उनीहरूलाई भ्याइ नभ्याई छ, तर रेखा र सुनामी भने अरुको घरमा काम गर्न बाहेक घरबाट बाहिर निस्कन मान्दैनन्, विहान बेलुका के खाउँ भन्ने चिन्ताले सताउने उनीहरूलाई यो सवै दृश्यले भतभती पोल्छ’ आमा नीरा भन्छिन्। आमा बोल्दै गर्दा छोरीहरूले पनि मन थाम्न सकेनन् ।
आँखा भरी आँशु पार्दै सुनामी र रेखा भन्छन्, ‘आमाको कमाइलेमात्रै त हामी सरकारी क्याम्पस पनि पढ्न सक्दैनौं।’ उनीहरूले आफ्नो भविष्यको धुन्धानै सपना सजाएका छैनन्। भन्छन् ‘बाबुबाट हामीलाई कुनैपनि आशा छैन।’ भरोसा हुन् त केवल उनकी आमा, जो रातदिन छोराछोरीको लालनपालन र शिक्षाकालागि अरुका घरमा घोटिएर काम गर्छिन्।
अामाका सुःखका दिन फर्काउने छाेरीहरूकाे सपना
रेखालाई नर्स बन्ने ठुलो रहर थियो। तर, जव उनले नर्स त धनीका छोराछोरीले मात्र पढ्न सक्ने रहेछन् भन्ने बुझिन त्यहीदिन देखि उनले नर्स बन्ने सपना त्यागिदिइन्। उनीहरू दुबैलाई अहिले होटेल म्यानेजमेण्ट पढ्ने मन छ। उनीहरूले सानैदेखि अरुको घरमा खाना पकाउने र भाँडा माझ्ने काम गरे। त्यसैले यो विषय पढ्न पाए छिटो जागिर खाएर आमालाई सुःख दिन पाइन्थ्यो कि भन्ने दुबैलाई लागेको छ।
आमा नीरालाई लाग्छ छोरीहरूलाई राम्रो पढाउन पाए जागिर खाने राम्रो घरको केटासँग विहे हुन्थ्यो र भविष्यमा आफूलेजस्तो दुःख पाउँदैनथे, तर यी दुबैले राम्रो पढेलेखेका केटासँग विहे गराैंला र सुखका दिन काटौंला भन्ने सपना देखेकै छैनन्। उनीहरूलाई बाँकी शिक्षा कसरी अघि बढाइ जागिर खाएर आमालाई यो नर्कबाट बाहिर निकाल्ने भन्नेमात्र लागिरहन्छ। आमा नीरा भन्छिन् ‘यो बेला कहीँ सुत्केरी स्याहार्ने मौका पाए छोरीहरूलाई कुनै सरकारी क्याम्पसमा भर्ना गर्ने खर्च जुट्थ्यो।’
महिला खबर
No comments: