संविधान कुनै दल विशेषको हुँदैन ः मन्त्री सिंह
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान कुनै दल विशेषको नहुने बताउनुभएको छ । रुकुम जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री सिंहले सबै आफ्नो अपनत्व ग्रहण गर्ने गरी सबै दलको सहमतिमा संविधान जारी गर्न सरकारको ध्यान केन्द्रीत भएको बताउनुभएको हो ।
‘निर्धारित समयमै लिखित र लोकतान्त्रिक संविधान निर्माण गर्नु प्रमुख एजेण्डा हो ।’ उहाँले भन्नुभयो,–‘संविधान जारी गरेमा नेपाललाई विकसित राष्ट्रको रुपमा चिनाउन सकिनेछ ।’ संविधान जारी नभएको अवस्थामा राजनीतिक अस्थिरताले गर्दा स्रोत साधनको सदुपयोग हुन नसकेको भन्दै मन्त्री सिंहले राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै केन्द्रीकृत एकात्मक राज्य प्रणालीबाट जनताले सर्वसुलभ सेवा नपाईरहेकोले संघीय प्रणालीमा गएर सबै भाषा, धर्म, समुदायका जनसमुदाय लाई अधिकार सम्पन्न बनाईने उहाँका भनाई छ । उहाँले संघीयतामा जाँदा रुकुम जिल्लाको कुनै संरचना नखल्बल्याएर प्रदेश निर्माण गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले ०४८ सालमा बनेको काँग्रेस नेतृत्वको सरकारले सबै जिल्ला सदरमुकाममा सडक पु¥याउने योजना लिएजस्तै अहिलेको सरकारले सबै गाविसमा सडक पु¥याउने लक्ष्य लिएको जानकारी गराउनुभयो । ‘अहिले रुकुम खुला दिशामुक्त घोषणा भएको छ ।’ उहाँले भन्नुभयो,–‘अब समयमै संविधान जारी गरेर रुकुमलाई बेरोजगार मुक्त बनाउन सबैले ध्यान दिनुपर्ने देखिन्छ ।’ रुकुम जिल्लामा यार्सागुम्बा लगायतका जडिबुटी प्रसस्त हुने भएपनि त्यहाँबाट हुने आम्दानी जिल्ला विकासमा नआएकोले त्यसतर्फ मन्त्रालयले पहल गर्ने मन्त्री सिंहको भनाई छ ।

Tag:
No comments: