प्रविर ददेल
मंसिर ७ रुकुम ।
राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन् । बिहीबार पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
बुढी गण्डकी जलविद्युत आयोजना नेपालको शान र गौरबसँग जोडिएको विषय भएको कारण विदेशी कम्पनीलाई निर्माणको जिम्मा नदिने जानकारी गराएका छन् । उनले भने,‘राष्ट्रिय गौरब र राष्ट्रिय महत्वको योजना नेपाल आफैले निर्माण गर्नुपर्ने जनाए ।’ उनका अनुसार–‘भोली (शुक्रवार) बस्ने मन्त्रीपरिषद्बाट बुढीगण्डकी निर्माण नेपाली कम्पनी मार्फत निर्माण गरिने निर्णय गर्ने तयारी भएको समेत जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले रातारात बिना प्रतिस्प्रर्धा बुढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय नेपालको हित विपरित भएको भन्दै मन्त्री परिषदको निर्णयले खारेज गरेको समेत स्पष्ट पारे ।
असोज ९ गते (सोमबार) बसेको संसदको कृषि तथा जलस्रोत समितीले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सहित प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । सो अनुरुप नेपाल सरकारको कार्तिक २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले बुढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको निर्णय खारेज गरेको थियो ।
बुढी गण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु गरेर पुरा गर्ने प्रधानमन्त्री देउवाले जनाए । उनका अनुसार देशलाई समृद्धि बनाउन जलविद्युतमा लगानी गर्नु पर्ने धारणा समेत राखेका छन् । देशमा ठुला ठुला जलविद्युत आयोजना निर्माण भएपछि उद्योग धन्दा कलकारखाना स्थापना हुने जनाए । जसले नेपालमा रहेको बेरोजगार समस्यालाई हल गर्नुका साथै देश आर्थिक रुपमा समृद्धि हुने ठोकुवा गरेका छन् ।
रुकुममा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले रुकुम १० वर्षे जनयुद्धबाट थिलो थिलो भएको भन्दै अब विकासको जिम्मा कांग्रेसलाई दिन समेत रुकुमेली मतदाताहरुलाई आग्रह गरेका छन् । उनले रुकुम जिल्लाको विकास निर्माणका साथै समृद्धिको योजना समेत सुनाएका थिए ।
No comments: