सुमित्रा केसी ।
सञ्चिारिका समुहले २०६९÷०७० सालमा फिचर लेखन सम्बन्धि तालिम दिएका मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल, र पश्चिमाञ्चल विकास क्षेत्रका महिला प्रशिक्षार्थी मध्य पहिलो चरणमा ५ जनालाई काठमाडौमा ४ महिने इन्टर्नशिपको आयोजना गरेको थियो ।
यहि फागुन १५ गते देखि असार १५ गते सम्म सञ्चालन भएको ईन्टर्नशिपमा मैले पनि सहभागि हुने अवसर प्राप्त गरे । ईन्टर्न गर्नेमा चिना थापा, कमला चौधरी, जमुना पाण्डे, साधना विश्वकर्मा र म लगायत ५ जनाको समुह थियो ।
५ जनामा म र साधनालाई सञ्चारिका अनलाईनमा, कमलालाई कान्तिपुर दैनिकमा, चिनालाई हिमाल खबर पत्रिकामा र जमुनालाई नागरिक दैनिकमा खटाईएको थियो ।
हामी पाँचै जना जिल्लामै बसेर पत्रकारिता गरेका शुरु शुरुमा अलिकति गाह्रो भयो । करिब एक महिना सम्म काठमाडौको माहोल बुझन, ठाँउहरु चिन्न र विभिन्न संघ सस्था तथा कार्यालयहरु कँंहा र कुन ठांउमा छन भन्ने पत्ता लगाउन कठिन भयो ।
सञ्चारिका समुहका आदरणिय दिदिहरु निर्मला दुर्गा र अरुणाको साथ सहयोगले हामिमा काम गर्ने उत्साह बढदै गएको थियो ।
होली कसरी मनाउनुपर्छ भन्ने विषयमा कमला र मैले तयार पारेको न्युज सबै भन्दा पहिला सञ्चारिका अनलाईनमा बाईलाईन सहित छापिएको थियो । त्यसदिन कमला र म एकदमै खुशि भएका थियौ ।
अर्को दिन देखि हामिले झन खटिएर लाग्ने सोच बनायौ । यद्यपि जिल्लामा रेडियो पत्रकारिता गरेका हामिलाई काठमाडौका मिडियामा गएर रिर्पोटिङ गर्न भने सोचे जति सजिलो थिएन ।
एक दिन नयाँ बानेश्वरमा महिला हिँसा विरुद्ध विभिन्न समुहमा आबद्ध पुरुषले पदयात्रा तथा र्यालीको आयोजना गरेका थिए । हामिलाई त्यस कार्यक्रममा गएर रिपोटिङ गर्न भनिएको थियो । साधना म र कमला त्यस कार्यक्रमा जान भनेर हिडयौ ।
कुपन्डोल चोकबाट बानेश्वरको गाडिमा चडेका थियौ पानी पर्न शुरु गरी हाल्यो । बानेश्वर पुग्दा ठुलो झरी पर्न थाल्यो । हामी तिनै जनाले त्यस दिन छाता लिएका थिएनौ । ४ बजेबाट शुरु हुने भनेको कार्यक्रम बर्सातका कारण ६ बजे सर्यो ।
हामि तिनै जना बानेश्वर शान्तिनगरगेटको नजिक बसी रहयौ । ६ बजे सम्म पानी रोकिने छाटकाट नदेखिएपछि आयोजकले कार्यक्रम शुरु गरी हाल्यो । र्यालीले बजार परिक्रमा गर्दै थियौ । पानी झनझन ठुलो पर्न लाग्योे । हामि रुज्दै, फोटोहरु खिच्दै, रमाईलो गर्दै र्रयालीको पछिपछि दौडयौ ।
केहि बेर पछि कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्य सचिव लिलामणी पोडैलको आगमन भयो । उहाले भनाई राखी सके पछि कार्यक्रमको समापन भयो । रातिको आठ बजी सकेको थियो । कार्यक्रमको न्युज लेख्न बाँकी नै थियो ।
बाहिर अध्यारो थियो । पानी झनझन दर्कीदै थियो । हामी सँग न टर्च थियो न छाता रुज्दा रुज्दा ज्वरो आउला झै भै सकेको थियो । होस्टेलमा पुग्दा साडे ९ बजेको थियो । त्यस दिन लगातार ४ घण्टा झरीमा रुझेका थियौ । त्यो पल अति अविस्मरणीय रहयो ।
४ महिनाको बसाईमा जिन्दगीमा आज सम्म कहिलै नभोगेको दुख पनि भोगियो । कुरा बैशाख १२ गतेको । शनिबार सञ्चारिकामा बिदा हुन्थ्यो । हामिले पनि काम गर्नु परथेन ।
शनिवार प्राय हामि बस्ने होस्टेलका सबै साथीहरुको बिदा हुन्थ्यो । दिउसो नुहाउन कपडा धुन, अलि चाप हुन्थ्यो । त्यसैले म १२ गतेको दिन बिहान ५ बजेनै उठेर सरसफाईको काम सकाए । दिउसो फिल्म हेर्ने प्लान थियो ।
त्यस दिनको मौसम अरु दिन भन्दा अलि बेग्लै थियो । घाम लागेको थिएन । आकास बादल लागेर झुम्म परेको थियो । खाना खाई सकेर होस्टेलको साथी नविना, कमला र म छतमा बसेर गफ गरी रहेका थियौ ।
होस्टेलको छत बेसरी हल्लीयो नविना के भयो मलाई चक्कर लाग्यो भन्दै थिईन भुकम्प आयो भाग भनेर छतबाट आर्लिन खोजे अह पाईला अगाडि सरेन । डरले मुटु काँप्न थाल्यो ।
नविना कहा गईन मलाई थाहा भएन म भने हात खुट्टा टेकेर जसो तसो कोठामा आई पुगे कोठामा मेरो रुम बेड सँचिता थिईन भुई हल्लीन छोडेको थिएन । सँचिता र म सुत्ने खाट मुनि पस्यौ ।
यस्तो लागथ्यो आज जिन्दगीको अन्तिम दिन रहेछ यहि मरिन्छ । भनिन्छ जब आशाका सबै ढोकाहरु बन्द हुन्छन तब मान्छेले ईश्वरलाई सम्झीन्छ रे हो त्यस्तै भयो । मेरो मुखबाट हे भगवान बचाउनुस भन्ने शब्द निस्कीयो । मन मनै ईश्वरलाई खुब सम्झीए ।
एक छिन पछि हल्लीन केहि कम भयो दौडेर बाहिर निस्कीयौ । बाहिर निस्कीन बितिकै मनै मनले ईश्वरलाई धन्यवाद दिए । हे भगवान बाँचियो जय होस । अघि त होस हवास थिईन अब भने बल्ल आफना मान्छे हरुको याद आयो । जब दुख पर्छ नि त्यति बेला आफन्तीहरुको अलि बढी नै याद आउदो रहेछ ।
पराकम्पन बारम्बार आई रहेको थियो । भित्र जाने आँट आएन । मन सारै आतिएको थियो कतै केहि त भएन । “भुईचालोले सातो पुतलो लियो हे भगवान केहि अशुभ सुन्न नपरोस” मोबाईल झिकेर फेसबुकमा यति चाँहि पोस्ट गरी हाले ।
त्यस पछि मेरो एक जना साथीलाई फोन गरे । साथी कामको सीलसीलामा दाङ जिल्लामा पुगेको र सकुशल रहेको खबर प्राप्त भयो । अब थोरै मनलाई शान्ति मिल्यो । तर घरमा के छ फोनै लागेन । अब त नेटवर्कले काम गर्न छोडि सकेको थियो । झन तनाव भयो ।
केहि बेर पछि दाईको नम्बरबाट एस एम एस आयो सानी फोन लागेन खबर के कस्तो छ भगवानको कृपाले अहिले सम्म सुरक्षित छु चिन्ता नलिनु यति लेखेर पठाईदिए ।
काठमाडौ शहर एकै छिनमा शोकमग्न भयो । भुकम्पले धरहरा ढल्यो रे यस्तै हल्ला सुनियो । तर भुई हल्ली रहयो हेर्न जाने आँट आएन खुला ठाँउमा गएर बस्यौ । हामिले त झन भुईचलोले के कति क्षति भयो न्युज रिपोटिङमा जानु पर्ने हया भाडमा जाओस रिपोटिङ पहिला आँफु बाचे पो यस्तै सोचेर गईएन ।
उज्यालो नेटवर्कमा ४ बजेको समाचारमा सुनियो साँचिकै धरहरा ढलेछ कति जनाको ज्यान गयो रे ।
एक दिन साधना र म धरहरा चढेका थियौ । धरहरामै रुकुमका साथिहरु दिनेश गुरुङ र सुन्दर शर्मा भेएिका थिए । हामि सबैले सँगै धरहराको अवलोकन गरेका थियौ ।
माथि पुगेपछि मैले भनेको थिए यति बेला भुकम्प आयो भने के हुन्छ होला है साधनाले हत्तेरी के कुरा गरेको भनेकी थिईन । मैले यति बेला ठिक त्यहि कुरा सम्झीए की त्यस दिन आएको भए त हामि...............
साँझ परेपछि होस्टेलको दिदिले खाना बनाउनुभयो सबैले बाहिर ल्याएर खाना खायौ । त्यसदिन सबैले बाहिर खुला आकास मुनि बसेर रात बितायौ । अर्को दिन कसैले ११ रेक्टरको भुकम्प आउछ भनेर भन्थे भने कसैले,काठमाडौं भासिन्छ भन्थे कसै कसैले त ज्वाला मुखि विस्फोट हुन्छ भन्थे ।
मन त्यसै आतिएर आउथ्यो कति खेर लाग्थ्यो मर्नेनै हो भने पनि कमसेकम आफनै ठाँउमा, घर परिवार सँगै मर्न पाए हुन्थ्यो भनेर । अब भने मैले जति सक्यो चाँडो घर फर्किनु पर्छ भन्ने सोच बनाए । तर भुकम्पका कारणले गाडि चल्दैन्थे बसपार्क र सडकहरु सुनसान थिए । हवाई जहाज पनि चल्दैन्थ्यो ।
सोचे जस्तो भएन त्यस पछिका दिनहरु झन कष्ट सँग बिते घर परिवारको खुब याद आउथ्यो । अब काठमडौ कुनै बिरानो ठाँउ जस्तो लाग्थ्यो । अर्को दिन सम्म पनि लगातार ठुला ठुला पराकम्पन गई रहेका थिए । टेक्न आधार जमिननै हल्लीन थाले पछि अब के गर्नु । एक हप्ता सम्म खुला आकाश मुनि रात काटियो । जसो तसो ज्यान बचाउन सकियो ।
४ महिनाको काठमाडौ बसाई सकिन अझै डेड महिना थियो । त्यस पछिका दिनहरु त्रासै त्रासमा बिते । रिपोटिङ जाँदा भुईचालोले चर्किका घरहरु देख्दा मन नै चर्किन्थ्यो । समग्रमा भन्नु पर्दा ४ महिनाको काठमाडौ बसाई उपल्बिध मुलक रहयो ।
समाचारका स्रोतहरु कसरी खोज्ने, विषय वस्तुको छनोट कसरी गर्ने, अन्तरवार्ता लिदाँ के कुरामा ख्याल गर्ने, कस्ता समाचारले प्राथमिकता पाउछन, फिचर कसरी लेख्ने, एउटा फिचर लेख्नलाई के कस्ता जानकारिहरु चाहिन्छ, यस विषयमा पहिलाको भन्दा केहि जानकार भईयो ।
मोहन मैनालि, गुणराज लुईटेल, गोपाल खनाल, मैना धिताल लगायतका प्रशिक्षकहरुबाट समाचारको क्षेत्रमा निकै नँया र राम्रो ज्ञान सिक्ने अवसर प्राप्त भयो ।
४ महिनाको अवधिमा सिकेका ज्ञान र सिपलाई आगामी दिनमा व्यवहारमा उतार्ने हरपल कोशिस गर्ने छु । अन्त्यमा यो अवसर प्रदान गर्ने सञ्चारिका समुहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
४ महिने काठमाडौ बसाई र पत्रकारिताको अनुभव

Tag: Article लेख /विचार
No comments: