गिरीप्रसाद वुढा
“फुटाउ र राज गर” यो राजनीतिको एउटा प्रचलित उखान हो । यो प्रचलित उखान आज संघीयताको माध्यमवाट हामी जनतामाथि नै प्रयोग हुँदै आएको कुरा दिनको घाम झै छर्लङ्ग हुँदै आएको छ ।
हाम्रो भुगोलमा विकास हुन सकेन । हामी जनता अधिकार सम्पन्न हुन सकेनौँ । हाम्रो पहिचानले ठाउँ पाएन । हामी पछाडि पारियौँ । हामी शोषित भयौँ। हामी पीडित भयौँ । यि सवै हुनुमा कारण छ । तर नेपाली जनतालाई सही कारण वताईएन ।
नेपालमा आफुलाई हिरो ठान्ने पार्टीहरुले नेपाली जनतालाई सही कारण लुकाएर गलत कारण बताइदिए । राज्यको पुःन संरचनाको वास्तविक अर्थ एउटा थियो तर जनतालाई अवास्तविक कुरामा सुगा रटाई गर्न लगाईयो ।
वास्तवमा हाम्रो समाजको पुरानो अधिरचनालाई भत्काएर नयाँ अधिरचना निर्माण गरियो भने मात्रै वास्तविक अर्थमा समाजको पुनः संरचना हुन सक्दछ । हाम्रो समाजको पुरानो अधिरचना भनेको अर्धसामान्ती र अर्धऔपनिवेशिक अर्थव्यवस्था वा उत्पादन प्रणाली हो । तसर्थ अर्धसामन्ती र अर्धऔपनिवेशिक अर्थव्यावस्था वा उत्पादन प्रणालीको जग नभत्काई केवल प्रदेशहरु वनाएर र जिल्लाहरु टुक्राएर वा भुभागहरु फेरवदल गरेर अगाडिवढ्ने कुराले मात्रै कुनै हालतमा राज्य पुनःसंरचनाको अनुभुत हुन सक्दैन । किन की जिल्ला, अञ्चल, संघीयता, एकत्मकता आदी भनेको राज्यको सामान्य उपरी संरचनाहरु मात्रै हुन । आज जनतालाई यसप्रकारको उपरीसंरचनामा गरिन सामान्य फेरवदललाई नै राज्यको पुनःसंरचना भनेर भ्रम दिईएको छ । यही भ्रमको कारण नेपाल थप द्वन्द तर्फ धकेलिँदै गईरहेको छ ।
आजको युगमा शासन प्रणाली एकात्मक हुने वा संघात्मक हुने भन्ने कुराले मात्रै देशमा विकास हुने र जनता अधिकार सम्पन्न हुने भन्ने कुराको निर्धारण हुन सक्दैन । तर हाम्रो देशमा विकास हुन नसक्नुमा र यहाँका जनता अधिकार सम्पन्न हुन नसक्नुको प्रमुख दोष एकात्मक शासन प्रणालीलाई लगाईयो । यसरी एकात्मक शासनको स्थानमा संघात्मक शासन कायम गरियो भने देश विकास र जनता अधिकार सम्पन्न हुने कुरामा चमत्कारै हुन्छ भन्ने कुरा लादियो । वास्तवमा देशमा विकास हुन नसक्नु र जनता अधिकार सम्पन्न हुन नसक्नुको मुल कारण एकात्मक शासन प्रणाली होईन वरु एकात्मक शासन प्रणालीको नाममा चलेको केन्द्रिकृत सामन्ती शासन प्रणाली हो भन्ने कुरालाई जनतावाट गोप्य राख्ने प्रयास गरियो । सँगसगै आज ति हिरो कहलीएका दलहरुले जनताको बीचमा यो सत्य खोल्न चाहँदैनन् कि हाम्रो समाजमा अर्धसामान्ती र अर्ध औपनिवेशिक उत्पादन प्रणाली कायमै रहेकोले संघीयता जारी भए पछि पनि त्यो भित्र केन्द्रिकृत सामन्ती शासन प्रणालीले नै अगुवाई गर्ने छ । फरक यति मात्रै हुने छ, एकात्मक राज्य व्यवस्थामा एउटैमात्रै केन्द्रिकृत शासन व्यवस्था थियो भने संघीयतामा प्रदेशै पिच्छे फरक फरक केन्द्रिकृत सामान्ती प्रणाली लागु हुने छ । यसरी संघीयतामा जनताका दुःखी दिन झन बढेर जाने छ ।
हिजो जनताले एउटा मात्रै शामन्ती केन्द्रिकृत शासनकोलागि खर्च जुटाउनु पथ्र्याे भने अव संघीयतामा गए पछि धेरै संख्यामा सामान्ती शासनको लागि खर्च जोहो गर्नु पर्ने छ । यसैले नेपालको सन्दर्भमा हामी सवैले समयमा नै बुझ्नु छ कि संघीयता भन्दा एकात्मकता नै ठिक छ । एकात्मकतामा खर्च पनि कम हुन्छ । देश पनि अखण्ड रहन्छ । राष्ट्रियता पनि वलियो हुन्छ । हाम्रो देशमा संघीयता उपयुक्त छैन । अन्धाधुन्ध रुपमा संघीयता चाहिन्छ भन्नेहरुकै कारणले गर्र्र्र्र्र्र्र्र्र्र्र्र्दा यो देश कुहिरोको काग जस्तै वनिरहेको छ । अचम्म त यो छ कि मान्छेहरु एकातिर संघीयता पनि चाहिन्छ भन्छन् अर्काे तिर आफ्नो एक चिम्ति माटो पनि चलाउन पाईदैन भन्छन् । यस्तो किन भईरहेको छ ? यहाँ कुन राजनीति र दर्शनले काम गरिरहेको छ । परिस्थिति झन झन रहस्यमय जस्तो बन्दै गइरहेको छ । अर्थात नेपालको राजनीतिमा एउटा प्रायोजित नाटक जस्तो भान भइरहेको छ ।
अव देशमा यस्तो नाटकको अन्त्य हुन जरुरी छ । यसको लागि सबैले संघीयताको सोच त्याग्नु जरुरी छ । यसरी एकात्मक नेपाल भित्र समुन्नत समाजको सृजनागर्नु छ । एकात्मक देशलाई सञ्चालन गर्ने दुईवटा पद्धति छन् । एउटा सामन्ती केन्द्रिकृत शासन पद्धति र अर्को जनवादी विकेन्द्रिकृत शासन पद्धति । हामीले सामन्ती केन्द्रिकृत एकात्मक शासन पद्धति भोगिसकेका छौ । यही शासनले हामी गरिव भएका हौँ । यही शासनले हाम्रो देशमा विकास हुन नसकेको हो । जातीय तथा लैङ्गीक विभेद पनि यही शासनको उपज हो । शोषण, दमन, र अन्याय अत्यचार पनि यही शासनले गर्दा चर्काे भएको हो । किनकी यस्तो एकात्मक शासनले सवै डाडु पन्यू केन्द्रमा मात्रै राख्यो र त्यो डाडु पन्यू छुने चलाउने अधिकार राजा महाराज वा मुभिर शोषकहरु र ठालुहरुमा मात्रै सिमित गर्यो । बाँकी शोषित उत्पीडित बहुसंख्याक जनतालाई त्यो डाडु पन्यू छुने कुरा त के देख्ने कुराबाट समेत बञ्चित गरियो । त्यसैले यो देशमा एकात्मक व्यवस्थाभित्रको यस्तो प्रणालीको जनताबाट विरोध भएको हो । यो विरोधको अर्थ यो देशलाई संघीयतामा लैजानु पर्छ भन्ने होईन ।
जनताको चाहना र देशको आवश्याकता भनेको पुरानो एकात्मक व्यवस्थाको अन्त्य गरेर नयाँ एकात्मक व्यवस्था निर्माण गर्नु हो । त्यो नयाँ एकात्मक व्यवस्था भनेको देशमा जनवादी विकेन्द्रिकृत एकात्मक शासन पद्धति लागु गर्ने हो । यो शासन पद्धतिमा डाडु पन्यू केन्द्रमा मात्रै होइन जिल्ला र गाउँहरुमा समेत राखिन्छ । जहाँ बहुसंख्याक नागरिकहरुले त्यो डाडु पन्यु चलाउने र हेर्ने सबै अधिकार प्राप्त गर्न सक्दछन् । यसैलाई हामीले राजनीतिक भाषामा प्रजातान्त्रिक विकेन्द्रिकरण र स्थानिय स्वशासन सहितको एकात्मक शासन भन्दै आएका छौ । यो व्यवस्था नै पुरानो एकात्मक व्यवस्था र संघीय व्यवस्था भन्दा तुलनात्मक रुपले उत्कृष्ट वा सही हुनेछ । तसर्थ प्रजातान्त्रिक विकेन्द्रियता र स्थानिय स्वशासन सहितको एकात्मक व्यवस्थालाई समयमा नै अपनाउ र समुन्नत नेपालको लागि सवैले हातेमालो गरौ ।
एकात्मक शासन पद्धतिको सान्दर्भभिकता

Tag: विविध
No comments: