Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » राष्ट्रिय आमसञ्चार नीति, २०७३


राष्ट्रिय आमसञ्चार नीति, २०७३
प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणका निम्ति नेपाली समाजको विविधता र बहुलवादलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र, स्वच्छ समाजप्रति उत्तरदायी र जिम्मेवार आमसञ्चार माध्यमको भूमिकालाई मनन् गर्दै, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, महासन्धि र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेका सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमको स्वतन्त्रताको संरक्षणका निम्ति आवश्यक पर्ने कानुनको निर्माणद्वारा दिगो शान्ति, 13240084_10209806546705745_8672717104669902161_nसुशासन, विकास, सामाजिक सद्भाव र समृद्धिको आकांक्षा पूरा गर्न आमसञ्चारमाध्यमको भूमिकालाई आत्मसात् गर्दै, भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय इकाई वा विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धलाई बलियो बनाई सौहार्दपूर्ण अन्तरजातीय, अन्तरभाषिक र अन्तरसांस्कृतिक सम्बन्धको सेतुका रूपमा काम गर्न सक्ने आमसञ्चारमाध्यमको भूमिकालाई दृष्टिगत गर्दै, शिक्षा, ज्ञान–विज्ञान, सूचना, स्वस्थ मनोरञ्जन, विकास, संस्कृतिको संरक्षण, वातावरण संरक्षण र समाजको पहरेदारीको भूमिका निर्वाह गर्ने आमसञ्चार प्रणालीको विकासका लागि ठूला, मध्यम र साना लगानीका सबै खालका आमसञ्चारमाध्यमको समविकासको आवश्यकतालाई बोध गर्दै, सूचनाको पहुँच सबै भूगोल, समुदाय र जनतासम्म विस्तार गरी सूचनाको हकको सम्मान र प्रचलनद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने दृढता व्यक्त गर्र्दै, जनताको दैनिक जीवनयापनका आवश्यकता, सरोकार र हितका विषयमा जानकारी दिने स्वस्थ, मर्यादित, जिम्मेवार र उत्तरदायी आमसञ्चार क्षेत्रको विकास गर्न नेपाल सरकारद्वारा गठित ‘सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले सिफारिश गरेअनुरूप आमसञ्चारको विकास गर्ने उद्देश्यका साथ नेपाल सरकारद्वारा राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी गरिएको छ ।
१. आमसञ्चार नीतिका उद्देश्यहरू १.१ नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रताको हकलाई प्रचलन गराई स्वच्छ, निष्पक्ष, लोकतान्त्रिक मान्यतामा आधारित आत्मनिर्भर, जवाफदेही र उत्तरदायी आमसञ्चारमाध्यमद्वारा जनताको सुसूचित हुने अधिकार सुनिश्चित गरी सभ्य र समृद्ध समाज स्थापना गर्ने ।
१.२ निर्वाध प्रेस स्वतन्त्रताको अभ्यास एवम् आमसञ्चारमाध्यमको अधिकतम उपयोगद्वारा सूचना र ज्ञानको प्रवाह गरी मुलुकलाई सूचना तथा ज्ञानमा आधारित सूचना–समाजमा रूपान्तरण गरी लोकतान्त्रिक समाजको विकास गर्ने ।
१.३ आमसञ्चार क्षेत्रको गुणस्तर वृद्धि गरी पत्रकारिताप्रतिको विश्वसनियता अभिवृद्धि गर्ने ।
१.४ आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, लिङ्ग र समुदायको पहुँच बढाई स्वच्छ जनमत निर्माण गर्ने प्रभावकारी माध्यमको रूपमा सञ्चार क्षेत्रको विकास गर्ने ।
१.५ महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता, मधेशी, सीमान्तकृत समुदाय र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारको क्षेत्रमा प्रतिनिधित्व बढाई क्रियाशील तुल्याउन प्रोत्साहित गर्ने ।
१.६ सञ्चार क्षेत्रलाई आत्मनिर्भर बनाउँदै स्वतन्त्र, निष्पक्ष, व्यावसायिक, मर्यादित र जनउत्तरदायी सञ्चारमाध्यमको विकासद्वारा मुलुकमा सुशासनको प्रवद्र्धन गर्ने ।
१.७ आमसञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कनका लागि अभिप्रेरित गरी स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताको विकास गर्ने । १.८ सूचना तथा सञ्चारप्रविधियुक्त सञ्चार प्रणालीको विकासद्वारा समाजमा रहेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ।
१.९ मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमको रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने ।
२. आधारभूत नीति
२.१ विचार अभिव्यक्ति, पूर्ण प्रेस स्वतन्त्रता र सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा प्रचलन एवम् नेपालको संविधानले आत्मसात् गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगका निम्ति आवश्यक पूर्वाधारको निर्माण गरी पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनेछ ।
२.२ विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी सङ्घीय इकाईबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय हित र राष्ट्रिय एकताको प्रवद्र्धनद्वारा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सूचना तथा सञ्चार प्रणालीको विकास गरिनेछ ।
२.३ मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, एकता, सामाजिक सद्भाव र राष्ट्रिय हितलाई सुदृढ गर्ने तथा गरीबी, अशिक्षा, उत्पीडन र अभावबाट ग्रस्त नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ उद्यमशीलता, स्वावलम्बन र सिर्जनात्मक कार्यलाई अभिप्रेरित गर्न एवम् उत्प्रेरकको भूमिका निर्वाह गरी आर्थिक सामाजिक विकासको प्रवद्र्धन गर्ने उद्देश्यले छापा, रेडियो, टेलिभिजन, अनलाइन, इन्टरनेट जस्ता सूचना प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
त्यस्तै सूचना र प्रविधिको तीव्र विकासलाई आत्मसात् गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनजस्ता सूचना तथा सञ्चार प्रविधिको एकीकृत सेवा र सुविधालाई प्रविधिगत सम्मिलनबाट (Convergence) निर्मित समुन्नत सूचना प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
२.४ सञ्चारमाध्यमले शिक्षा, सामाजिक उत्तरदायित्व, विज्ञान तथा प्रविधि, पर्यटन, जनस्वास्थ्य, वातावरण संरक्षण, कृषि, जलस्रोत, ग्रामीण विकास तथा पूर्वाधार, उपभोक्ता अधिकार तथा जनचेतना र सुशासनमूलक समाचार र सामग्री प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गरिनेछ ।
२.५ पत्रकारिताको गुणस्तर वृद्धि र व्यावसायिक विकासका लागि आमसञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, सेवामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित समाचारमाध्यम तथा स्वरोजगार, साना, मझौला र ठूलो लगानीका आधारमा वर्गीकरण गरी सञ्चारमाध्यमलाई सञ्चार उद्योगको रूपमा मान्यता दिई सहुलियत प्रदान गरिनेछ ।
२.६ समाचारमाध्यमको सत्यता, निष्पक्षता, विश्वसनीयता, सन्तुलित, स्वच्छता, जिम्मेवारी र जवाफदेही वहन गर्ने लक्ष्य अनुरूप घृणा, विद्वेष फैलाउने वा हिंसालाई बढावा दिने किसिमका सामग्री प्रवाह गर्न निरूत्साहन गरी स्वच्छ र मर्यादित पत्रकारिताको विकासका निम्ति समाचारमाध्यमहरूलाई आमपाठक, श्रोता र दर्शकहरूले थाहा पाउने गरी लिखितरूपमा सार्वजनिक स्वनियमन र स्वमूल्याङ्कनको व्यवस्था गर्दै सम्पादकीय नीति सार्वजनिक गर्न प्रोत्साहन गरिनेछ ।
२.७ सूचना र आमसञ्चारसम्बन्धी कानुनहरूको पुनरावलोकन गरी सूचना तथा सञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यता एवम् नेपालको संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै आमसञ्चार स्वतन्त्रता सुनिश्चित गरी समाचारमाध्यमहरूको स्थापना, सञ्चालन र विकासका निम्ति मुलुकमा आएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक पर्ने कानुनहरू निर्माण गरिनेछ ।
२.८ रेडियो, टेलिभिजन, छापा, अनलाइन माध्यमका लेख्य, श्रव्य र दृश्यमार्फत प्रस्तुत सामग्रीमा समाजको विविधता र बहुलता तथा भाषा र प्रस्तुतिको शिष्टता प्रवद्र्धन गरी पहुँचकै अनुपातमा देशका सबै भूभागका अन्तर्वस्तु उत्पादन गराउन र स्थानीय समाचारमाध्यममा अधिकतम सामग्री स्थानीय विषयवस्तुमा आधारित भएर उत्पादन गराउन प्रोत्साहन गरिनेछ । उच्चतम व्यावसायिक अभ्यास गर्दै तयार गरिएका पाठ्य वा श्रव्य–दृश्य तस्वीर, रेखाचित्र एवम् कार्टुन विधा समावेश भएको सन्तुलित सामग्री उत्पादनमा प्रोत्साहन र प्रवद्र्धन गरिनेछ ।
२.९ लोकतान्त्रिक मूल्य र मान्यताको प्रवद्र्धनका निम्ति सुशासन तथा पारदर्शिताको सुनिश्चितता एवम् आमसञ्चारमाध्यमको स्वतन्त्र रूपमा सञ्चालन र विकासका लागि लगानीको स्रोतको वैधानिक एवम् आर्थिक पारदर्शिताको सुनिश्चितता गरी सञ्चार माध्यममा राष्ट्रिय लगानीलाई प्रोत्साहन गरिनेछ । समाचारमाध्यमको स्वस्थ एवम् प्रतिस्पर्धात्मक विकासका लागि व्यावसायिक योजना विना निहित स्वार्थका साथ समाचारमाध्यममा लगानी गर्ने अस्वस्थ प्रवृत्तिलाई निरूत्साहन गरिनेछ ।
२.१० स्वरोजगार सिर्जना गर्ने साना लगानीका सञ्चारमाध्यमलाई प्रोत्साहन गरिनेछ ।
२.११ नेपाली जनताको विचार र अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय हितमा असर नपु¥याउने गरी पूर्वाधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा प्रकाशन र प्रसारण माध्यममा सम्पादकीय स्वतन्त्रताको सुनिश्चितताका निम्ति विशेष शर्तहरू तोकी त्यस्तो सञ्चारमाध्यममा पत्रकार, कामदार र कर्मचारी नेपाली नागरिक मात्र रहने व्यवस्था गरिनेछ । विदेशी लगानीकर्ताको भूमिका निर्णायक हुने गरी विदेशी लगानीलाई प्रोत्साहन गरिने छैन ।
२.१२ नेपालको संविधान र राष्ट्रिय हित प्रतिकूल सञ्चार सामग्रीको उत्पादन, विक्रीवितरण र प्रवाहमा कुनै पनि किसिमका स्वदेशी वा विदेशी लगानीलाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कारवाहीको व्यवस्था गरिनेछ ।
२.१३ राष्ट्रिय हितलाई सर्वोपरि ठानी विदेशी पत्रपत्रिकाको नेपाल संस्करण वा मुद्रण एवम् विदेशी रेडियो र टेलिभिजनको प्रसारण, रिले प्रसारण र विदेशी उत्पादनको नेपाली माध्यमबाट प्रसारण गरिने सामग्रीमा नेपालको संविधानको मर्म र भावना अनुकूल हुने गरी कानुनद्वारा व्यवस्थित गरिनेछ ।
२.१४ स्वस्थ र मर्यादित पत्रकारिताको विकासका निम्ति मिडिया एकाधिकार Media Monopoly_) र मिडिया सघनताबाट (Media Concentration_) उत्पन्न हुन सक्ने नकारात्मक परिणामलाई निरूत्साहन गर्न छापा र विद्युतीय एउटै प्रकृतिको राष्ट्रियस्तरको प्रकाशन वा प्रसारण माध्यमको स्वामित्व धारण वा सञ्चालन गरेको एक व्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा निर्णायक हिस्सा नहुने गरी निश्चित शर्तसहित लगानीको सीमा तोक्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
२.१५ सञ्चारमाध्यमलाई राज्यद्वारा लोककल्याणकारी कार्यक्रमका निम्ति प्रोत्साहन स्वरूप प्रदान गरिने लोककल्याणकारी विज्ञापन र खुला बजारबाट हुने उपभोक्ता केन्द्रित विज्ञापनको प्रभावकारी व्यवस्थापनको आवश्यक व्यवस्था मिलाइनेछ । आमसञ्चारमाध्यमलाई देशको विविधताको प्रतीकका रूपमा विकसित गर्न लोककल्याणकारी विज्ञापनमार्फत दुर्गम क्षेत्रबाट प्रकाशन वा प्रसारण हुने र मातृभाषामा प्रकाशन वा प्रसारण हुने महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय र अपाङ्गता भएका व्यक्तिबाट सञ्चालित सञ्चारमाध्यमहरूलाई विशेष प्रोत्साहन गरिनेछ । महिला, दलित, आदिवासी जनजाति, मधेशी, पिछडा वर्ग, सीमान्तकृत समुदाय र अपाङ्गताकोे विषयलाई महत्व दिई सामग्री उत्पादन गर्ने पत्रकार, प्रस्तोता, सम्पादकजस्ता पदहरूमा ती वर्ग र समुदायका व्यक्तिहरूलाई अधिकतम रूपमा समावेश गर्न सञ्चारमाध्यमहरूलाई प्रोत्साहन गरिनेछ ।
२.१६ छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमको विशिष्टतालाई दृष्टिगत गरी उल्लिखित सबै माध्यममा प्रकाशित वा प्रसारित हुने व्यापारिक विज्ञापनको अन्तर्वस्तुमा प्रभाव पर्न र उपभोक्तामा भ्रम सिर्जना हुन नदिन विज्ञापनसम्बन्धी एकीकृत कानुन निर्माण गरी नियामक निकायद्वारा नियमनको प्रभावकारी व्यवस्था गरिने छ । विज्ञापन बजारको प्रयोजनका लागि आवश्यक पर्ने समाचार माध्यमहरूको लोकप्रियता र प्रसारको आवधिक सूचना सङ्कलन गर्न विज्ञापनदाता उद्यमी, विज्ञापन एजेन्सी र समाचार माध्यमका सञ्चालक समावेश हुने गरी वितरण सम्परीक्षण समिति गठन गर्न प्रोत्साहन गरिनेछ ।
२.१७ राष्ट्रिय एकतालाई सुदृढ गर्न, सांस्कृतिक, जातीय, भौगोलिक र भाषिक विविधताबीच सद्भाव र सौहार्दपूर्ण संवाद कायम गराउन तथा सङ्कटपूर्ण अवस्थामा समेत सूचना प्रवाहलाई निरन्तरता दिन नेपाली जनताप्रति उत्तरदायित्व वहन गर्ने राष्ट्रव्यापी पहुँच भएको स्वायत्त निकायको रूपमा राष्ट्रिय सार्वजनिक सेवा प्रसारककोे स्थापना गरिनेछ ।
२.१८ आमसञ्चारमाध्यमको अभिलेखीकरण, इजाजत, सरकारी विज्ञापनको समानुपातिक वितरण, श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको श्रम विवादमा मध्यस्थता, नियमन र संस्थागत विकास, टेलिभिजन सिग्नल र उत्पादन, वितरण सम्बन्धी अनुमति, नवीकरण, नियमन र प्राविधिक अनुगमनका लागि आवश्यक कार्य गर्ने प्रेस रजिष्ट्रार कार्यालय र न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरिआएका कामहरूसमेत गर्ने गरी आवश्यकता अनुसार राष्ट्रिय आमसञ्चार प्राधिकरण, राष्ट्रिय प्राधिकरण जस्ता निकायहरू स्थापना गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
२.१९ प्रेस काउन्सिललाई पत्रकारिता क्षेत्रको आचारसंहिता अनुगमन गर्ने र आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी सुनुवाइ गर्ने स्वतन्त्र, स्वायत्त र सक्षम निकायको रूपमा विकास गरिने छ । स्वतन्त्र र सक्षम व्यक्तिहरू रहेको सिफारिश समितिको सिफारिशमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायतका आमसञ्चारमाध्यमका उपभोक्ताको समेत प्रतिनिधित्व हुने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा काउन्सिलमा अध्यक्ष र सदस्यहरूको नियुक्तिको व्यवस्था गरिनेछ । आचारसंहिता उल्लङ्घनका सम्बन्धमा सम्बन्धित पक्षको उजुरी वा स्वजानकारीका आधारमा काउन्सिलले दुवै पक्षको कुरा सुनी मेलमिलाप गराउने वा मध्यस्थको प्रक्रियाद्वारा समस्या समाधान गर्ने व्यवस्था गर्न सोही अनुरूपको कानुन तर्जुमा गरी प्रेस काउन्सिललाई सक्षम बनाइने छ ।
२.२० पत्रकारिता पेशालाई व्यावसायिक र मर्यादित बनाउन आमसञ्चारसम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवम् उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ । नेपाली समाचार माध्यममा सबै जातजाति र सबै समुदायको उपस्थिति बढाउन प्रतिष्ठानले समानुपातिक समावेशी नीतिअनुसार सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पत्रकारिता पेशामा आबद्ध गरी समाचार कक्षलाई समावेशी बनाउन सोही अनुरूपको कार्यक्रम सञ्चालन गरिनेछ । यसैगरी उल्लिखित समुदायको पत्रकारितासम्बन्धी उच्च शिक्षामा सहभागिता वृद्धि गर्न आवश्यक छात्रवृत्तिका लागि प्रोत्साहन गरिने छ ।
२.२१ पत्रकारिता र सञ्चार क्षेत्रको इतिहास र प्रविधिको विकासक्रम झल्किने गरी सूचना तथा सञ्चार क्षेत्रमा प्रयोग भएका सामग्रीहरूको समूह र प्रदर्शनी, यस क्षेत्रका पुराना उपकरण, सामग्री तथा प्रकाशनको सङ्कलन र संरक्षण एवम् आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धानका लागि नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ ।
२.२२ सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सेवाहरू, रेडियो, टेलिभिजन र इन्टरनेट सेवाको व्यापक पहुँच एवम् विस्तार गर्न सोही अनुरूप कार्यक्रम तर्जुमा गरी लागु गरिने छ । यसैगरी प्रसारण क्षेत्रलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिने छ ।
२.२३ श्रमजीवी पत्रकारको सेवा, शर्त र सुविधा सुनिश्चित गर्दै त्यससम्बन्धी कानुनको कार्यान्वयनको आधारमा सञ्चारमाध्यमको वर्गीकरण र लोककल्याणकारी तथा अन्य सरकारी विज्ञापन एवम् सुविधा र सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइनेछ । यसैगरी श्रमजीवी पत्रकारसम्बन्धी ऐनबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई सुविधा प्रदान गर्ने सञ्चार प्रतिष्ठानलाई प्रोत्साहन गरिने, कानुन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सुविधाबाट वञ्चित गरिने र कारबाही गर्ने प्रणालीको विकास गरिनेछ ।
२.२४ राज्यको सञ्चार तथा आमसञ्चारसँग सम्बन्धित संरचना र निकायलाई संविधानको मौलिक हकमा व्यवस्था भएअनुसार समानुपातिक समावेशी बनाइनेछ ।
२.२५ पत्रकारिता क्षेत्रमा निरन्तर रूपमा लामो समयसम्म योगदान पु¥याएका ज्येष्ठ पत्रकारहरूलाई मासिक वृत्ति प्रदान गर्न “ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष” स्थापना गरी लागु गरिनेछ । साथै कार्यक्षेत्रमा रहँदा कुनै दुर्घटनामा परी घाइते भएका वा दीर्घ रोगबाट पीडित÷ग्रसित पत्रकारको उपचारका लागि एक पत्रकार कोष स्थापना गरी सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ ।
३. विषयगत नीति
३.१ सेवा प्रसारण
३.१.१ फ्रिक्वेन्सीलाई राष्ट्रिय स्रोत मानी सोही आधारमा राष्ट्रिय फ्रिक्वेन्सी बाँडफाँड तथा वितरण योजना बनाइनेछ । त्यस्तो योजना बनेपछि निश्चित मापदण्डका आधारमा पारदर्शी र प्रतिस्पर्धी रूपमा फ्रिक्वेन्सी प्रयोग इजाजत दिने व्यवस्था मिलाइनेछ ।
३.१.२ एफ.एम. रेडियो र टी.भी.का फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका लागि बाँडफाँड गरिनेछ । यसरी बाँडफाँड भएका फ्रिक्वेन्सीहरूमध्ये सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका फ्रिक्वेन्सीलाई पारदर्शी तथा खुला प्रतिस्पर्धाको आधारमा प्रदान गरिनेछ । यस्तै एफएम रेडियोलाई प्रदान गरिएका फ्रिक्वेन्सीको अवधि अठार वर्षसम्म कायम हुने गरी कानुनी व्यवस्था गरिने छ । यो प्रावधान लागु हुनुभन्दा अगाडि प्रदान गरिएका फ्रिक्वेन्सीहरूमा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशित गरी फ्रिक्वेन्सी अवधि लागु भएको जानकारी दिएको मितिदेखि फ्रिक्वेन्सी अवधि गणना गरिनेछ ।
३.१.३ प्रसारणको गुणस्तरीयता र प्रभावकारिता बढाउन नयाँ प्रविधिको उपयोगलाई प्रोत्साहन गर्दै फ्रिक्वेन्सी स्पेक्ट्रम कम भएका ठाउँमा फ्रिक्वेन्सी उपलब्धतालाई सहज बनाइनेछ । प्रसारण तथा दूरसञ्चार क्षेत्रका इजाजत प्राप्त संस्थाले परस्पर सहमतिमा पूर्वाधार तथा भू–उपग्रह साझेदारी गर्न प्रोत्साहनका लागि आवश्यक व्यवस्था गरिनेछ ।
३.१.४ प्राकृतिक प्रकोप, महामारी र मानवीय सङ्कट हुँदा उद्धारको जानकारी र सूचना प्रवाहका लागि विशेष आकस्मिक फ्रिक्वेन्सीको व्यवस्था गरिनेछ ।
३.२ सार्वजनिक सेवा प्रसारण
३.२.१ रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणको रूपमा रूपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायीे रूपमा सञ्चालन हुने व्यवस्था गरिनेछ ।
३.२.२ सार्वजनिक सेवा प्रसारण संस्थाले जनताका सञ्चार आवश्यकताको परिपूर्ति गर्ने एवम् कतिपय प्राकृतिक विपत्ति वा महामारीका बारेमा पूर्व सूचना प्रदान गर्ने भएकाले प्रादेशिक र स्थानीय तहमा स्थानीय विषयहरूमै केन्द्रित भई प्रसारण गर्ने व्यवस्थालाई सुनिश्चित गरिनेछ । सार्वजनिक सेवा प्रसारणको पहुँच देशव्यापी हुनुपर्ने भएकाले फ्रिक्वेन्सी वितरणमा प्राथमिकता प्रदान गरिनेछ ।
३.२.३ सार्वजनिक सेवा प्रसारणले कुनै व्यक्ति वा समुदायउपर विना भेदभाव राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र व्यावसायिक पत्रकारिताको स्थापित मान्यता अनुरूप समाचार तथा कार्यक्रम उत्पादन र प्रसारणको नीति अवलम्बन गर्नेछ ।
३.२.४ सार्वजनिक सेवा प्रसारणलाई रेडियो, टेलिभिजन, भू–उपग्रह र इन्टरनेटलगायतका माध्यमबाट नेपालका सबै भूभाग र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याउन आवश्यक अत्याधुनिक प्रविधिको प्रयोग गर्ने व्यवस्था मिलाइनेछ ।
३.२.५ सार्वजनिक सेवा प्रसारणलाई महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएको क्षेत्र एवम् समुदायको स्वामित्वको बोध गराउन जनशक्ति छनोट गर्दा सबै तहमा समानुपातिक समावेशी नीति अवलम्बन गर्दै विषयवस्तुमा लोपोन्मुख परम्परा, संस्कृति र समुदायगत कार्यक्रम समावेश गर्न प्रोत्साहन गरिनेछ ।
३.२.६ अन्तरसांस्कृतिक, अन्तरजातीय, अन्तर भौगोलिक अन्तरलिङ्गीय र अन्तर भाषिक संवादलाई सौहार्दपूर्ण बनाउने अन्तरवस्तुलाई प्रवद्र्धन गरिनेछ ।
३.२.७ सार्वजनिक सेवा प्रसारणले आफ्नो उत्पादन जनहितका निम्ति निजी क्षेत्रका प्रसारकलाई समेत उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइनेछ । ३.३ निजी एवम् व्यापारिक प्रसारण
३.३.१ निजी क्षेत्रबाट प्रसारण हुने एफएम रेडियो र टेलिभिजनलगायतका प्रसारण माध्यमलाई स्वतन्त्र पत्रकारिताको स्थापित सिद्धान्त र लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप स्वतन्त्र, निष्पक्ष, निर्भीक र व्यावसायिक संस्थाको रूपमा सञ्चालन हुने वातावरण सिर्जना गरिनेछ ।
३.३.२ प्रसारण माध्यमलाई प्रसारण पहुँच क्षेत्र, लगानी, भौतिक पूर्वाधार, जनशक्ति, उद्देश्यलगायतका विभिन्न आधारमा राष्ट्रिय, प्रादेशिक र स्थानीय प्रसारकका रूपमा वर्गीकरण गरी प्रसारण फ्रिक्वेन्सीहरूको न्यायोचित वितरण गरिनेछ ।
३.३.३ एफएम रेडियोमा कुनै पनि प्रसारण स्टेसनबाट प्रसारण भइसकेको कुनै पनि सामग्रीको बीस प्रतिशत सामग्रीभन्दा बढी नेटवर्किङ्ग माध्यमबाट वा अरू कुनै माध्यमबाट रिले प्रसारण वा छपाइ पुनः प्रसारण गर्न निरूत्साहन गरिनेछ ।
३.३.४ समाचार वा सूचनामूलक कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्थामा सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्न समाचारको जिम्मेवारी र जवाफदेहिता वहन गर्ने गरी कानुनद्वारा तोकिएको योग्यता पुगेको सम्पादक नियुक्ति गर्नेे व्यवस्था मिलाइनेछ ।
३.४ सामुदायिक प्रसारण
३.४.१ उपभोक्ता समूह, स्थानीय निकाय, सार्वजनिक यातायात, जलवायु परिवर्तन, हावा, पानी तथा मौसम, जनस्वास्थ्य र कृषिसँग सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था वा सहकारी, स्थानीय क्लव, गुठी, सामुदायिक वा सार्वजनिक शैक्षिक संस्थाको स्वामित्वमा रहेको नाफा आर्जन नगर्ने उद्देश्यकासाथ सञ्चालित एफ.एम. रेडियो र टेलिभिजनहरूलाई सामुदायिक सेवा प्रसारणका रूपमा परिभाषित गरी ती रेडियो र टेलिभिजनलाई उद्देश्य, स्थायित्व र विषयवस्तुको आधारमा वर्गीकरण गरी तदनुरूप मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गरिनेछ । तोकिएको मापदण्डका आधारमा सामुदायिक प्रसारकको आवधिक मूल्याङ्कन गर्ने प्रचलनलाई प्रोत्साहन गरिनेछ ।
३.४.२ सामुदायिक रेडियो तथा टेलिभिजन पत्रकारिताको स्थापित मान्यताको आधारमा लोकतान्त्रिक मूल्यमान्यता अनुरूप स्वतन्त्र, निष्पक्ष, स्वायत्त, समावेशी सञ्चारमाध्यमको रूपमा विकास हुने वातावरण सिर्जना गरिनेछ ।
३.४.३ सामुदायिक रेडियो तथा टेलिभिजनमा स्थानीयता र निकटता भएका समाचार तथा सामग्री प्रवद्र्धन गर्नका लागि कुनै पनि केन्द्रीय प्रसारण माध्यमबाट प्रसारित समाचार तथा समाचार प्रधान सामग्रीलाई सामुदायिक रेडियो तथा सामुदायिक टेलिभिजनले आफ्नो कूल प्रसारित सामग्रीको बीस प्रतिशतभन्दा बढी समाचार तथा सामग्री प्रसारण वा पुनः प्रसारण गर्न निरूत्साहन गरिनेछ । सामुदायिक रेडियो तथा सामुदायिक टेलिभिजनको प्रसारण क्षेत्र स्थानीय विषयवस्तुमा केन्द्रित हुनेछ ।
३.४.४ सेवा प्रसारणलाई व्यवस्थित, व्यावसायिक र मर्यादित रूपमा सञ्चालन गर्न सेवा प्रसारणसँग सम्बन्धित विशेष कानुन निर्माण गरी लागु गरिनेछ ।
३.५ समाचार समिति
३.५.१ राष्ट्रिय समाचार समितिको सेवा विस्तार÷विविधीकरण गरी सञ्चालनमा सेवाग्राहीको प्रतिनिधित्व रहने व्यवस्था गरी सार्वजनिक सेवा प्रदायक निकायकोे रूपमा विकास गरिनेछ । यसैगरी राष्ट्रिय समाचार समितिलाई क्षमता र स्तरोन्नति गरी सूचना बैंकका रूपमा स्थापित गरिनेछ ।
३.५.२ निजी तथा गैरसरकारी स्तरमा समाचार एजेन्सीको स्थापनाका निम्ति अनुमति प्रदान गर्न सकिने व्यवस्था गरिनेछ । ३.६ छापा सञ्चार माध्यम
३.६.१ गोरखापत्रसम्बन्धी नीति (क) गोरखापत्र संस्थानलाई सम्पादकीय स्वतन्त्रतासहित स्वायत्त, सक्षम र स्रोतसाधनयुक्त संस्थाका रूपमा विकास गरी यसका प्रकाशनहरूलाई व्यावसायिक, स्तरीय, आधुनिक प्रविधिमैत्री, समावेशी र प्रतिस्पर्धात्मक बनाइनेछ । साथै यसका प्रकाशनहरूलाई प्रादेशिक स्तरमा पनि प्रकाशन गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ । (ख) गोरखापत्र संस्थानलाई स्वायत्त र समावेशी प्रकाशन गृहका रूपमा विकास गर्न यसको स्वामित्वमा जनसाधारणको पहुँच सहज तुल्याउने व्यवस्था गरी यसको व्यावसायिक एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि आवश्यक पुनःसंरचना, व्यवस्थापकीय र सम्पादकीय सुधारका योजना कार्यान्वयन गरिनेछ ।
३.६.२ निजी एवम् व्यापारिक छापा सञ्चारमाध्यम (क) सम्पादकीय स्वतन्त्रता सुनिश्चित गर्दैै सञ्चार संस्थामा कार्यरत पत्रकार, कामदार र कर्मचारीको रोजगारी तथा वृत्ति–विकासको प्रत्याभूति गरिने व्यवस्था मिलाइनेछ । (ख) दर्ता भई प्रकाशन नै नभएको पत्रपत्रिकाको नाम दर्ता गर्न चाहने व्यक्ति वा संस्थाले प्रयोग गर्न पाउने गरी आवश्यक कानुनी व्यवस्था गरिनेछ । (ग) पत्रपत्रिकाको सम्पादकीय जनशक्ति र अन्तर्वस्तुमा महिला, सीमान्तकृत, विपन्न, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेशी, दलित, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउन प्रोत्साहन गरिनेछ । (घ) विविध विधामा केन्द्रित भई गरिने पत्रकारिताको प्रवद्र्धन गर्दैै सबै राष्ट्र भाषामा पत्रपत्रिकाको सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
३.६.३ प्रादेशिक, स्थानीय वा सामुदायिक छापा माध्यम (क) प्रादेशिक तहमा सञ्चालन हुने पत्रपत्रिकाहरूलाई सम्बन्धित प्रदेशले उद्देश्य, स्थायित्व र विषयवस्तुको आधारमा वर्गीकरण गरी तदनुरूप मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्न सक्नेछ । (ख) स्थानीय तहमा सामुदायिक तथा सहकारीको माध्यमबाट सञ्चालन हुने पत्रपत्रिकाहरूलाई सम्बन्धित स्थानीय तहले उद्देश्य, स्थायित्व र विषयवस्तुको आधारमा वर्गीकरण गरी तदनुरूप मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्न सक्नेछ । (ग) सामुदायिक तथा सहकारी सञ्चारमाध्यमहरूलाई पत्रकारिताको स्थापित मान्यताको आधारमा लोकतान्त्रिक मूल्यमान्यता अनुरूप स्वतन्त्र र निष्पक्ष सञ्चारमाध्यमका रूपमा विकसित हुन सक्ने वातावरण सिर्जना गरिनेछ ।
३.७ अनलाइन मिडिया
३.७.१ समाचारमूलक अनलाइन माध्यमलाई वर्गीकरण गरी अन्य समाचार माध्यम सरह सुविधा र नियमनकोे व्यवस्था मिलाइनेछ ।
३.७.२ नेपाली भूभागलाई लक्षित गरी इन्टरनेटको माध्यमबाट हुने प्रसारणका सम्बन्धमा कानुन बमोजिम नियमनको व्यवस्था गरिनेछ । ३.७.३ समाचारमूलक अनलाइन पत्रिकाको रूपमा दर्ता नभएका इन्टरनेटमा आधारित अन्य माध्यमको नियमन सम्बन्धित प्रचलित कानुनबमोजिम हुने छ ।
३.७.४ इन्टरनेटको माध्यमबाट हुने प्रसारण र प्रकाशनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्न सम्बन्धित क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक वातावरण सिर्जना गरिनेछ । ३.७.५ सूचना तथा सञ्चार प्रविधिको अवाञ्छित प्रयोग र अनपेक्षित सूचना प्रवाहलाई निरूत्साहन गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई विशेष उपायहरू अवलम्बन गर्न आवश्यक व्यवस्था गरिने छ ।
३.७.६ व्यक्तिको गोपनीयता तथा वैचारिक स्वतन्त्रतालगायतका मूल्य मान्यताहरूको प्रबद्र्धन गर्न साइवर सुरक्षा नीति तर्जुमा गरी इन्टरनेटबाट हुने साइवर अपराध (Cyber Crime) नियन्त्रणका निम्ति आवश्यक कानुन बनाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
३.८ चलचित्र
३.८.१ नेपाली चलचित्रलाई नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गरी नेपाली कला, संस्कृति, साहित्य शिक्षालाई प्रवद्र्धन गरी सिर्जनशील, सांस्कृतिक एवम् स्वच्छ र स्वस्थ मनोरञ्जनात्मक उद्योगको रूपमा विकास, विस्तार र सम्बद्र्धन गरिनेछ ।
३.८.२ नेपाललाई एक आकर्षक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन स्थलको रूपमा विकास गरी चलचित्र पर्यटनलाई प्रोत्साहन गरिनेछ ।
३.८.३ नेपाली मौलिक कला, भाषा एवम् संस्कृतिलाई प्रतिविम्बत गर्दै बनेका चलचित्रहरू, आदिवासी जनजाति तथा विभिन्न मातृभाषामा बनेका चलचित्रहरू तथा राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने चलचित्रहरू, बौद्धिक, चेतनामूलक, शिक्षाप्रद चलचित्रहरूलाई राज्यले विशेष सुविधा एवम् सहुलियत उपलब्ध गराउनेछ ।
३.८.४ चलचित्र क्षेत्रमा लामो समयसम्म महत्वपूर्ण योगदान गर्ने चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिइनेछ ।
३.८.५ टिकट विक्री र त्यसबाट भएको आम्दानी, कर, प्रदर्शन–अवधि र लोकप्रियतासम्बन्धी सूचनाको पारदर्शिताका निम्ति चलचित्र क्षेत्रमा ‘वक्स अफिस’ प्रणाली लागु गर्न प्रोत्साहन गरिनेछ ।
३.९ विज्ञापन
३.९.१ विज्ञापन व्यवसायलाई सेवा उद्योगको रूपमा सूचीकृत गरी आवश्यक सुविधा र सहुलियतहरू प्रदान गरिनेछ । यसैगरी विज्ञापन एजेन्सीलाई लगानी, पूर्वाधार, कार्यक्षमता र कार्यप्रकृति आदिका आधारमा वर्गीकरण गरिनेछ ।
३.९.२ समाचार माध्यमका अन्तर्वस्तुमा विज्ञापनबाट हुने आम्दानीको दुष्प्रभाव र विविध वस्तु तथा सेवासम्बन्धी कुनै पनि विज्ञापनबाट उपभोक्तालाई भ्रममा पर्न नदिन र उपभोक्ताको उत्पादन र सेवा छनोट गर्न पाउने अधिकार सुुनिश्चित गर्ने प्रयोजनका लागि अमर्यादित, अशोभनीय र संविधानको भावना प्रतिकूल सामग्रीलाई विज्ञापनका रूपमा प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था गरी उपभोक्ता हितको संरक्षण गरिनेछ । ३.९.३ राज्यद्वारा उपलब्ध गराइने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले वितरणको व्यवस्था मिलाइनेछ ।
३.९.४ सञ्चारमाध्यममा प्रकाशन वा प्रसारण हुने विज्ञापन सामग्रीको कुल समाचार र अन्य सामग्रीसँगको अनुपात निर्धारण गरी तदनुकूल प्रसारण गराउने दायित्व त्यससम्बन्धी नियामक निकायले गर्ने गरी आवश्यक व्यवस्था गरिनेछ ।
३.९.५ आमसञ्चारमाध्यमले राजनीतिक सङ्गठनको नाममा निर्वाचनको समय वा अन्य समयमा निर्वाचनको स्वच्छता र सार्वजनिक मर्यादामा प्रतिकूल प्रभाव पार्ने विज्ञापन वा अन्य सामग्री प्रवाहित गर्न नपाउने गरी आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
३.९.६ आमसञ्चारमाध्यमले कुनै निश्चित विचार, धर्म र आस्था अथवा ब्राण्ड, उत्पादन वा सेवाको मात्र प्रचार वा एकाधिकार रहने गरी प्रकाशन, प्रसारण वा प्रदर्शन गर्न नपाउने गरी आवश्यक कानुनी व्यवस्था गरिनेछ ।
३.९.७ सर्वसाधारणलाई उपयोगी हुने विज्ञापनलाई प्रसारण गर्ने प्रसारकलाई प्रोत्साहन र प्रवद्र्धन गरिनेछ ।
३.९.८ प्राकृतिक विपत् तथा प्रकोपले खडा गरेको सङ्कटका समयमा आवश्यक सूचना प्रवाह गर्ने विज्ञापनका लागि प्राथमिकताका साथ सहुलियत दरमा वा निःशुल्क प्रकाशन, प्रसारणको व्यवस्था सुनिश्चित गरिनेछ ।
३.९.९ कुनै उत्पादन वा सेवाका सम्बन्धमा गलत सूचना प्रवाह हुन नदिन त्यस्तो उत्पादन वा सेवा प्रवाह भएका सूचनाहरूको कानुनी दायित्व सम्बन्धित विज्ञापनदाता, प्रकाशक र प्रसारकले वहन गर्नुपर्ने व्यवस्था गरिनेछ ।
३.९.१० उपभोक्तामा भ्रम उत्पन्न हुन नदिन समाचार सामग्री र विज्ञापन सामग्रीबीचको अन्तर छुट्याउन ध्वनि, दृश्य वा चित्र सङ्केतको प्रयोग गर्ने गरी विशेष व्यवस्थाहरू मिलाउने व्यवस्था गरिनेछ ।
३.९.११ नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (Clean Feed_) बनाउने नीति अवलम्बन गरिनेछ । प्रसारण अनुमति लिइसकेका टेलिभिजन च्यानलको हकमा अवधि तोकी विज्ञापनरहित (Clean Feed_) प्रसारण गराउन आवश्यक व्यवस्था गरिनेछ । ३.९.१२ नेपालमा प्रकाशन, प्रसारण र प्रदर्शन गरिने विज्ञापनहरूमा ध्वनिकरण (Dubbing) गरिएका विज्ञापनहरूलाई रोक लगाइनेछ ।
३.९.१३ होर्डिङ्ग बोर्ड, विद्युतीय डिस्प्ले, टावर, बिलवोर्ड, भित्तेलेखन र उच्च वेलुनजस्ता बाह्य (आउटडोर) विज्ञापन प्रदर्शन गर्न, राख्न अनुमति दिइने क्षेत्र छुट्याई जनताको सुरक्षा, स्थानीय क्षेत्रको सौन्दर्य र वातावरणको स्वच्छता सुनिश्चित गर्न स्थानीय तह एवम् अन्य सम्बद्ध निकायमार्फत कार्य गर्ने र त्यस्ता संरचना निर्माण वा विज्ञापन प्रदर्शन गर्नुअघि पूर्व अनुमति प्राप्त गर्नुपर्ने प्रणाली स्थापना गरिनेछ । ३.९.१४ स्थानीय विज्ञापनलाई स्थानीय तहकै सञ्चारमाध्यममा वितरण गर्नका लागि प्रोत्साहन गरिनेछ ।
३.१० टेलिभिजन सिग्नल र केवुल वितरकसम्बन्धी व्यवस्था
३.१०.१ प्रकाशन र प्रसारणजस्तै सामग्रीको वितरणसमेत अभिव्यक्ति स्वतन्त्रतासँग अभिन्न रूपमा जोडिएकाले टेलिभिजन सिग्नल वितरण र केवुल वितरणलाई सञ्चारको आधारभूत पूर्वाधारको रूपमा ग्रहण गर्दै सबै प्रकारका केबुल वितरणसम्बन्धी व्यवस्थालाई डिजिटल प्रणालीमा रूपान्तरण गरिने छ ।
३.१०.२ केवुल प्रसारकहरूले स्थानीय वा सामुदायिक टेलिभिजनको प्रसारणलाई प्राथमिकतासाथ प्रसारण गर्ने व्यवस्था मिलाइनेछ ।
३.१०.३ टेलिभिजन सिग्नल वितरक तथा केवुल वितरकहरूले विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित (Clean Feed) नीति अवलम्बन गर्ने गरी आवश्यक व्यवस्था गरिने छ ।
३.१०.४ टेलिभिजन सिग्नल वितरण र केवुल वितरणको नियमन र अनुगमन कानुनद्वारा व्यवस्थित गरिनेछ ।
४. विविध
४.१ यस नीतिमा गरिएका व्यवस्थाहरूलाई कार्यान्वयन गर्न गराउन विद्यमान कानुनमा समयानुकूल पुनरावलोकन गरी आवश्यकतानुसार सुधारका साथै अन्य आवश्यक नयाँ कानुनहरू बनाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
४.२ यस नीतिमा उल्लिखित भएका विषयहरूको कार्यान्वयन, अनुगमन र नियमनका लागि आवश्यक संरचनाहरू बनाई लागु गरिनेछ ।
४.३ यो राष्ट्रिय आमसञ्चार नीति प्रत्येक दश वर्षमा पुनरावलोकन गरिने छ ।
५. खारेजी सञ्चार नीति ,२०४९ खारेज गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply