मधेशवादी मोर्चाले तराई–मधेशमा जारी राखेको आन्दोलनको प्रभाव फितलो बन्दै गएको छ । वीरगञ्ज नाकामा धर्नाकारीहरुको सहभागिता पातलिँदै गएको छ । आन्दोलन ५ महीनाबाट उकालो लागिरहँदा धर्नाकारीको सङ्ख्या भने अहिले १५÷२० जनामा सङ्कुचित भएको छ ।
असोज ७ गतेबाट शुरु सीमानाका धर्ना अन्यत्रका नाकामा हटिसकेको छ । पातलै सहभागिता भए पनि अहिलेसम्म वीरगञ्जमा मात्र धर्ना जारी छ । वीरगञ्ज–रक्सौल सीमावर्ती मितेरी पुलमा धर्नाकारी न्यून सङ्ख्यामा भए पनि भारततिर रोकिएका कुनै पनि सवारी तथा ढुवानीका सधान भने नेपाल प्रवेश गर्न पाएका छैनन् । मधेशवादीको धर्ना र भारतले लगाएको नाकाबन्दीका कारण वीरगञ्ज नाकाबाट करीब ४ महीनायता आयात निर्यात हुन सकेको छैन ।
करीब आधा परिमाणको आयात निर्यात हुने नाकाबाट मालसामान नभित्रिए पनि वीरगञ्ज बजारको चहलपहल बढ्दै गएको छ । मधेश आन्दोलनलाई सघाइरहेको भारतले पछिल्लो समयमा आन्दोलनको निकासका लागि नेपाल सरकारको निर्णयको स्वागत गरेपछि मधेशवादी मोर्चा दबाबमा परेको छ । आन्दोलनमा सहभागितासमेत घट्दै गएको छ । आन्दोलनकारीले पटकपटक आन्दोलन कडा बनाउने घोषणा गरे पनि प्रभाव फितलो देखिने गरेको छ । अहिले मोर्चाका प्रायः स्थानीय नेताहरु वीरगञ्जबाहिर छन् ।
आन्दोलनको प्रभाव घट्दै गएपछि वीरगञ्ज बजार सामान्यरुपमा खुल्न थालेको छ । सवारीका साधन पनि वीरगञ्जबाटै सञ्चालनमा आउन थालेका छन् । बिहीबारमात्र १ सय ३० ओटा सवारीका साधन छुटेको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । वीरगञ्जको बसपार्कबाट रात्रि गाडीसमेत सञ्चालनमा आएका छन् । यसअघि बाराको सिमराबाट सवारीका साधन छुट्ने गरेका थिए । वीरगञ्जको सुक्खा बन्दरगाहबाट २ महीनाभन्दा लामो समयदेखि मालसामान ढुवानी भइरहेको छ ।
स्थानीय घण्टाघरबाट काठमाडौंका लागि टाटासुमो र स्थानीय रुटमा चल्ने सिटीराइड, भ्यान, टेम्पुलगायतका साधन चलेका छन् । साना चारचक्के साधनहरु पनि चल्न थालेका छन् । विद्यालयहरुले पनि बस चलाउन थालेका छन् । मङ्सिरको पहिलो हप्तादेखि चलेका विद्यालयहरुले यसअघि बस चलाएका थिएनन् ।

आन्दोलनकारीको डरले खुल्न नसकेको विद्युत् प्राधिकरण वीरगञ्ज बितरण केन्द्रले माघ ७ गतेसम्म महसुल बुझाउनेलाई ३ प्रतिशत छुट दिने भन्दै कार्यालय खोलेको छ । अन्य कार्यालयहरु पनि सञ्चालनको तयारीमा रहेको र यसै हप्ताबाट अधिकांश सञ्चालनमा आउने प्रशासनले जनाएको छ । आन्दोलनकारीको धम्कीका कारण बन्द भएका पेट्रोल पम्पहरुले पनि पेट्रोलियम बितरण गरेका छन् ।
खाना पकाउने ग्यासको आपूर्ति पनि तुलनात्मक सहज भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार गत मङ्गलबार पर्साका ८ ओटा पेट्रोल पम्पबाट डिजेल र पेट्रोल बितरण गरिएको छ ।
No comments: